• २४ माघ २०८२, शनिबार

कृषिमा ६० प्रतिशत रोजगारी सृजना गर्न सकिन्छ : महामन्त्री लम्साल

blog

सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा महामन्त्री सुनिल लम्साल । तस्बिर : भुवन कर्की

भुवन कार्की
रुपन्देही, माघ २४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्सालले ६० प्रतिशत रोजगारी कृषि क्षेत्रमै सृजना गर्न सकिने बताउनुभएको छ । रुपन्देही क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका लम्सालले कृषिको आधुनिकीकरण गर्न सके रोजगारीमा वृद्धि गर्न सकिने उल्लेख गर्नुभयो ।

रुपन्देहीको तिलोत्तमामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता लम्सालले भन्नुभयो, ‘‘व्यवसायिक रुपमा कृषिको आधुनिकीरण गर्न सके आधाभन्दा धेरै रोजगारी कृषि क्षेत्रमै सृजना गर्न सकिन्छ, त्यसका लागि राज्यले उन्नत कृषि प्रणालीको विकास गर्नुपर्छ ।’’ आफ्नो निर्वाचन क्षेत्रमा किसानका समस्या धेरै भएकाले त्यसलाई हल गर्न आफूले अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

आफ्नो घोषणापत्रमा कृषि क्षेत्रका समस्या समाधानका उपाय उल्लेख गर्ने पनि उहाँले बताउनुभयो । किसानले उन्नत कृषि गर्न मलको चर्को मूल्य तिर्नुपरिरहेको भन्दै किसानलाई राज्यले सहुलियतको व्यवस्था गरिदिनुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै, यहाँका उद्योगहरुमा धेरैजसो भारतीय नागरिकले रोजगारी पाएको तर नेपाली श्रमिकले अवसर नपाएको भन्दै नेपाली उद्योगीले सकेसम्म नेपाली श्रमिकलाई नै रोजगारी दिनुपर्ने धारणा उहाँले राख्नुभयो । रुपन्देहीको क्षेत्र नं. १ मा कतिपय बस्तीमा घरको शौचालय समेत बनाउन नसक्ने जनता भएकाले त्यस्तो ठाउँमा राज्यले नै पहल गरिदिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । शिक्षा र  स्वास्थ्य क्षेत्रको सुधार तथा रोजगारी वृद्धिमा आफूले पहल गर्ने लम्सालले बताउनुभयो ।

पार्टीले भ्रष्टाचार निवारण र सुशासनको पक्षमा काम गर्ने नीति लिएको भन्दै देशलाई समृद्धिको दिशामा लैजान रास्वपाका उम्मेदवारलाई जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो । पेशाले इन्जीनियर समेत रहनुभएका नेता लम्सालले आफू प्राविधिका मान्छे भएकाले भाषण गरेर प्रचारमुखी हुन नचाहेको तर काम गरेर देखाउन चाहेको उल्लेख गर्नुभयो ।