• २४ माघ २०८२, शनिबार

मतदाता रिझाउन उम्मेदवार घरघरमा

blog

घरदैलोमा व्यस्त उम्मेदवार । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), माघ २४ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मत माग्नका लापग उम्मेदवारहरु मतदाताको घरघरमा पुगेका छन् । जिल्लामा केन्द्रीयस्तरमा समेत पकड राम्रो बनाएका नेताहरु चुनावी मैदानमा रहेकाले यहाँको निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ । यतिबेला उम्मेदवारहरु मतदाताहरुलाई भेट्न र आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलो कार्यक्रममा व्यस्त छन् ।

गुल्मी क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवाली, नेपाली कांगेसका नेता चन्द्रकान्त भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकालबिच प्रतिस्पर्धा हुने भएको छ ।

चारै जना उम्मेदवार केन्द्रस्तरमा पहुँच राख्ने भएकाले यहाँको निर्वाचन रोचक देखिएको छ । चारै जना उम्मेदवारहरुले आफूले जित्ने दाबी गर्दै आएका छन् । भण्डारी र ज्ञवालीले यस क्षेत्रको विकासमा योगदान गरेकाले आआफूले जित्ने बताउँदै आउनुभएको छ । बरालले आफूले प्रदेशमा सामाजिक विकासमन्त्री हुँदा र नहुँदा पनि निरन्तर विकासको पक्षमा रहेकाले आफूले मत पाउनेमा ढुक्क रहेको बताउनुहुन्छ । यता ढकालले अरु नेतालेभन्दा आफूले धेरै विकास गर्न सक्ने भएकाले अहिले आफूलाई मतदान गर्ने बताउनुभएको छ ।

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्णराज विष्टसँगै कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीबिच प्रतिस्पर्धा हुने देखिन्छ । २०५६ सालदेखि निरन्तर यस क्षेत्रमा उम्मेदवार बन्दै आउनुभएका बिष्ट २०६४ सालको निर्वाचनमा बाहेक अन्य निर्वाचनमा मत आफ्नो पक्षमा पार्न सक्षम देखिनुभएको छ ।  

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदानस्थल र २८४ वटा मतदान केन्द्र तोकिएको छ ।