तनहुँ, माघ २४ गते । निर्माण कम्पनीको लापरबाहीले गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशुपक्षी अस्पताल’ को भवन निर्माण कार्यमा बिलम्ब भएको छ । पछिल्लो पटक थपिएको समय सीमा कात्तिक ३० गते सकिँदा समेत भवन निर्माणको काम पूरा हुन सकेको छैन । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम अलपत्र छाडेर म्याद थप्न दबाब दिइरहेको केन्द्रले जनाएको छ ।
भवन निर्माणको जिम्मा चितवनस्थित इको विल्डर्सले पाएको थियो । सम्झौता अनुसार गत पुसमा काम सम्पन्न नभएपछि असार मसान्त र त्यसपछि पुनः कात्तिक ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो । तर थपिएको समयमा पनि काम पूरा नभई हालसम्म भौतिक प्रगति ७० प्रतिशत मात्रै सीमित रहेको छ । केन्द्रका प्रमुख रविनसन अधिकारीका अनुसार ठेकेदारले ५५ प्रतिशत भुक्तानी लगिसकेका छन्, तर अहिले सम्पर्कमा नआउँदा काम अलपत्र परेको हो ।
“पटक–पटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा आएका छैनन्, बरु म्याद थप गर्न दबाब दिइरहेका छन्,’’ प्रमुख अधिकारीले भन्नुभयो । उहाँका अनुसार म्याद थप गर्ने वा नगर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । डेढ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने यो आयोजना ठेकेदारको ढिलासुस्तीका कारण तीन वर्ष पुग्दा समेत अधुरै रहेको छ । पोखरामा दमौलीसँगै सुरु भएको अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसके पनि यहाँ भने निर्माण कार्यमा चरम बिलम्ब देखिएको हो ।
गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक चार करोड ९० लाखको लागतमा ठेक्का सम्झौता भएको यो भवन बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको छ । अस्पतालका लागि आवश्यक पूर्ण भौतिक पूर्वाधार निर्माण गर्न १० करोड लाग्ने अनुमान गरिएको छ। निर्माण कम्पनीले निरन्तर अटेर गरेमा ठेक्का तोड्नुपर्ने अवस्था आउन लागेको केन्द्रले जनाएको छ ।
यो अस्पताल सञ्चालनमा आए तनहुँ सहित छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासीका किसानहरू समेत लाभान्वित हुने र पशु स्वास्थ्य कार्यक्रम थप प्रभावकारी हुने केन्द्रले जनाएको छ ।