काठमाडौँ, माघ २३ गते । बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत मजबुतीलाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्देशन दिनुभएको छ ।
योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डङ्गोलले प्रबलीकरण योजनाको अनुगमन गर्दै आज निर्माणका हरेक प्रक्रियालाई सूक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।

कमलपोखरीको अनुगमनका क्रममा उहाँले सूचना प्रविधि विभागलाई सीसीटीभी क्यामरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन तथा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनालाई बिरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिनुभयो ।
उहाँले पोखरी वरिपरि रहेका निकाय तथा सङ्घसंस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरीको स्वच्छता, सरसफाइ र सुन्दरता बढाउने योजना निर्माण गर्न सक्ने बताउनुभयो ।
प्रबलीकरण भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टेन्जेन्सी र पीएससहित ७४ करोड ४७ लाख ३९ हजार ४४३ रुपैयाँ थियो ।
सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग ४२ करोड ९० लाख १४ हजार ३१० रुपैयाँमा सम्झौता भयो । बोलपत्रदातालाई मंसिर १५ गते कार्यादेश दिइएको हो । निर्माण कार्य २०८४ मंसिर १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । अहिले पाँच प्रतिशत भौतिक प्रगति भएको छ ।
कमलपोखरी पुन:निर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो । यसको लागत अनुमान ४ करोड ६ लाख ८१ हजार ८० रुपैयाँ गरिएको थियो । यो रकम भ्याट र पीएससहितको हो । काम २०८१ असोज १९ गतेबाट सुरु भएको हो । गएको मंसिर १५ गते कार्य सम्पन्न हुनुपर्ने मिति थियो । अहिले यसको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ ।

अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई र इन्जिनियर प्रेमबहादुर श्रेष्ठले ड्रइङ डिजाइनमा उल्लेख भएका विषय र कार्यान्वयन अवस्थाको प्राविधिक पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।
दोस्रो चरणको कामअन्तर्गत साविकमा प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । सिमाना पर्खालबाहिर ट्याक्टिकल अर्बनिजम अन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदल यात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, बिरुवा रोप्ने र सानो पार्क बनाउने काम भएको छ ।
कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रूपमा विकास गर्ने गुरुयोजनाअनुरूप कमलपोखरी पुन:निर्माण गरिएको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको छ ।
कमलपोखरीको वरिपरि पैदल मार्ग छ ।चिल्ड्रेन पार्क, मकराकृतिका ढुङ्गेधारा, अपाङ्गतामैत्री शौचालय, खुला व्यायामशाला र उद्यान कमलपोखरीका विशेषता हुन् । पोखरीका चारवटा कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मूलढोकासँगै एउटा ठुलोसहित पोखरी वरिपरि ५ वटा मण्डप छन् । पोखरी छिर्ने गेट परम्परागत नेपाली शैलीको छ । पोखरी निर्माण गर्दा नेपाली इँटा र दर्शन ढुङ्गा प्रयोग गरिएको छ ।
