गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही दलहरु बाह्य शक्तिराष्ट्रको गोटी बनिरहेको टिप्पणी गर्नुभएको छ । आफूलाई नयाँ दलभन्नेहरु नै बढी त्यस्तो गोटी बनिरहेको उहाँको आरोप छ ।
नेकपा (एमाले) दोलखाका प्रतिनिधिसभाका उम्मेदवार समेत रहनु भएका उहाँले सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीबिचको अन्तरक्रियामा रास्वपा लगायतका नयाँ दलको टेक्ने र समाउन धरातल नरहेको टिप्पणी गर्नुभयो । देश र जनताको पक्षमा काम गर्ने हैसियत पनि नयाँ दलहरुमा नरहेको उहाँको भनाइ छ ।
निर्वाचन आउन अब ३१ दिन बाँकी छँदा नेता गुरुङले निर्वाचनका लागि सरकारले अझै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप लगाउनुभयो । निर्वाचन भयरहित बनाउन सुरक्षा व्यवस्था भरपर्दो र कडा हुनुपर्ने उहाँको भनाइ छ । जनता र देशको पक्षमा काम गर्ने पार्टी एमाले भएको भन्दै उहाँले मतदातालाई निर्वाचनमा सहयोग गर्न अपिल गर्नुभयो ।