• १९ माघ २०८२, सोमबार

चार करोड मूल्य बराबरको धान खरिद

blog

फाइल तस्बिर ।

महेन्द्रनगर (धनुषा), माघ १९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत दुई महिनामा किसानबाट रु चार करोड सात लाख ६४ हजार २९० मूल्य बराबरको धान खरिद गरेको जनाएको छ ।

कार्यालयका अनुसार महोत्तरी र धनुषा जिल्लाका २४० किसानबाट  हालसम्म ११ हजार २३५ क्विन्टल सोना मन्सुली धान खरिद गरिएको हो । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाको दरले ११ हजार २३५ क्विन्टल धान खरिद गरिएको कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाले बताउनुभयो । गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरिएको र हालसम्म सो परिमाणको धान खरिद भइसकेको कार्यालयका प्रमुख थापाले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष धान बिक्रीका लागि धनुषा र महोत्तरीका ठूलो सङ्ख्यामा किसानले कार्यालयमा नाम दर्ता गराएको छ । बजार मूल्यभन्दा यस कार्यालयबाट धान खरिद मूल्य बढी भएकाले धान बिक्री गर्ने किसान आउने क्रम बढेको उहाँको भनाइ छ । 

बजारमा रु ३ हजार प्रतिक्विन्टल धान खरिद बिक्री भइरहेको छ । कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट करिब ५५ क्विन्टलसम्म धान खरिद गरिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिनुभयो ।

धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामै पठाउने व्यवस्था गरेको छ । कार्यालयका अनुसार कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म किसानले ल्याएको धान खरिद भइरहेको छ । हालसम्म धनुषा र महोत्तरी जिल्लाका २४० जना किसानले स्थानीय तहको सिफारिसमा धान बिक्री गरिसकेका छन् ।

धान बिक्री गर्ने किसानमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसानको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो । यस वर्ष कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको वरिष्ठ सहायक जयकिशुनप्रसाद चौधरीले जानकारी दिनुभयो । 

सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसा तोकेको छ । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयको गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले जानकारी दिनुभयो । रासस