लीलाराज खड्का
बिर्तामोड, माघ १९ गते । मोफसलकै प्रतिष्ठित मानिने सातौ झापा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।
यस पटकको गोल्डकप गोल्डकपका पुर्व अध्यक्ष समेत रहेका स्वर्गिय विनोद बस्नेतको स्मृतिमा डोमालाल रङ्गशाला बिर्तामोडमा गर्न लागिएको हो ।
माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताउनुभयो ।
त्यस्तै, प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । दास्रो क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबीच हुनेछ ।
तेस्रो क्वार्टर फाइनल खेलमा माघ २८ गते एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम क्वार्टर फाइनल खेल माघ २९ गते मछिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबीच हुने छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १ गते र दोस्रो सेमिफाइनल खेल फागुन २ गते हुनेछ । फाइनल खेल फागुन ४ गते हुनेछ ।प्रतियोगिताको विजेताले १५ लाख रुपियाँ र उपविजेताले सात लाख ५० हजार रुपियाँ पाउनेछ ।
प्रत्येक खेलको प्लेयर अफ दि म्याचले २५ हजार रुपियाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले ३५ हजार रुपियाँ पाउनेछ ।