माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ १९ गते । बङ्गलादेश पोखरामा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला फुटबलको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हरायो ।
बङ्गलादेशका लागि २९औँ मिनेटमा टिम कप्तान अर्पिता विश्वासले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । मामोनी चक्काले प्रहार गरेको फ्रिकिक पिपक्षी किपर मुन्नीबाट रिबाउन्ड बललाई गोलमा परिणत गर्नुभएको हो ।
४०औँ मिनेटमा स्रिमोती तिर्सना रानीले मिलाइदिएको पासलाई अल्पी अक्तरले पोस्टको दिशा दिँदा बलले जाली चुमेको थियो । खेलमा प्लेयर अफ दि म्याच उहाँ नै हुनुभयो ।
आजको खेलमा भारतले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । खेलको सातौँ मिनेट प्रितिका बरमान मिलाएको पासलाई पारलले प्रहार गर्दा विपक्षी किपर अरजानले बचाउनुभयो ।
५१औँ मिनेटमा अनुस्का कुमारीले प्रहार गरेको बललाई बङ्गलादेशकी किपरले बचाउनुभयो । भारतका प्रशिक्षक पामेला कोन्टले खेलमा हार जित स्वभाविक भएको बताउँदै खेलाडीले फिनिसिङ गर्न नसक्दा हार भएको बताउनुभयो ।
दोस्रो खेल नेपाल र भुटानबिच भइरहेको छ । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि छ । भारतसँग १–० ले पराजित भएको नेपाल जित निकाल्ने दाउमा छ । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी छन् ।