काठमाडाैँ, माघ १९ गते । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताउनुभएको छ ।
सोमवार काठमाडाैँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुङ्गाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण गराउनुभयो । उहाँले आसन्न निर्वाचन नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नुपर्ने समेत बताउनुभयो । प्रधानमन्त्री कार्कीले निर्वाचनमा कुनैपनि नागरिक घाइते हुन नहुनेतर्फ पनि प्रहरीहरूलाई सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, "आसन्न फागुन २१ को निर्वाचन हाम्रो उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोशेढुङ्गा हो । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व हो । जसमा नेपाल प्रहरीको भुमिका अत्यन्त संवेदनशील र निर्णायक हुन्छ । यस सन्दर्भमा म तपाईंहरूलाई आग्रह गर्दछु–कुनै राजनीतिक प्रभाव, दवाव वा पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार आफनो जिम्मेवारी पूरा गर्नुहोस । तपाईहरुको निष्पक्षताले लोकतन्त्रको सुरक्षा कवच हो । यो चुनाव नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नु बन्नुपर्दछ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन । एक जना पनि घाइते हुनुहुँदैन । र साथसाथै यसमा पनि प्रष्ट हुनुहोस् । तपाईहरुले कर्तव्य पालनाको सिलशिलामा सबै व्यवसायिक क्रियाकलापको जिम्मा राज्यले लिन्छ ।"
प्रधानमन्त्री कार्कीले प्रहरीहरूलाई कुनैपनि राजनीतिक दबाब, प्रभाव र पूर्वाग्रहभन्दा माथि उठेर काम गर्न पनि निर्देशन दिनुभयो ।