• १३ माघ २०८२, मङ्गलबार

टी–२० विश्वकप : नेपालको अन्तिम तयारी भारतमा

blog

श्रीलङ्काबाट भारत जानुअघि नेपाली टोली । तस्बिर : क्यान

काठमाडौँ, माघ १३ गते । तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेल्न लागेको नेपालले आफ्नो अन्तिम तयारी भारतमा गर्ने भएको छ । 

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाली टोली श्रीलङ्कामा केही अभ्यास खेलसहित तयारी गरेर अन्तिम तयारीका लागि भारत पुगेको छ । विश्वकप अघि नेपालले भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग तीन वटा टी–२० अभ्यास खेल खेल्ने छ । 

त्यसपछि नेपालले विश्वकपको समूह चरणको खेलअघि संयुक्त अरब इमिरेट्स (युएई) र क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने तालिका छ । नेपालले युएईसँग फेब्रुअरी ३ तारिख र क्यानडासँग ५ तारिख खेल्नेछ । उक्त खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुनेछ ।

त्यसपछि नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । 

नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्दैछ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने छ । 

नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ । 

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । 

नेपाली टोली 

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।