काठमाडौँ, माघ १२ गते । नेपाल आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
नेपालले छनोट खेलमा तेस्रो हार खेप्यो । चार खेलमा नेपालले यसअघि टेस्ट राष्ट्र जिम्बावेलाई ६ विकेटले हराएको थियो ।
जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा नौ विकेटको क्षतिमा ६८ रनमा इनिङ सकेको थियो । कप्तान इन्दु बर्माले चोटका कारण बिचमै मैदान छाड्नुभएको थियो । नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४/१४ रन बनाउनुभयो ।
रुबिना क्षेत्रीले १० रन जोड्नुभयो । बलिङमा स्कटल्यान्डका अब्ताहा मकसुदले तीन विकेट लिनुभयो । यस्तै कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले दुई दुई तथा ओलिभिया बेल र रचेल स्लेटरले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो ।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाउनुभयो । अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ र मेगान मेकलले १७ रन जोड्नुभयो ।
बलिङमा नेपालकी मनीषा उपाध्यायले चार विकेट लिनुभयो । रुबिना क्षेत्रीले तीन तथा सीता रानामगर, रिया शर्मा र कविता जोशीले एक एक विकेट लिनुभयो ।