काठमाडौँ, माघ १२ गते । सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र सामाजिक मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोका अनुसार अर्थ सरोकार नामक युट्युब च्यानलमार्फत जिल्ला झापा अर्जुनधारा नगरपालिका–११ घर भएका ईश्वरीप्रसाद संग्रोलका छोरा, नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय संयोजक देवीप्रसाद संग्रोलले सामाजिक सञ्जालमा कानुनविपरीत अभिव्यक्ति दिनुभएको थियो ।
विज्ञप्तिअनुसार संग्रोलले बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत बैंकका कर्मचारीमाथि कुटपिट, भण्डाफोर जस्ता कार्य गर्नुपर्ने भन्ने आशयका अभिव्यक्ति दिएका थिए । ती अभिव्यक्ति सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत रहेको जनाउँदै साइबर ब्युरोले उहाँ उपस्थित भई प्रारम्भिक सोधपुछ गरिसकेको जनाएको छ ।
ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ती अभिव्यक्तिले कानुन उल्लङ्घन गरेको देखिएपछि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ । विज्ञप्तिमा संग्रोलले बैंकिङ प्रणालीबारे दिएको अभिव्यक्ति गलत भएको स्वीकार गर्दै भविष्यमा समाज र राज्यलाई असर पार्ने किसिमका अभिव्यक्ति नदिने प्रतिबद्धता जनाएको र नेपाल सरकारसँग क्षमायाचना गर्दै लिखित कागजातसमेत बुझाएको उल्लेख छ ।
साथै साइबर ब्युरोले सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत कानूनविपरीत अभिव्यक्ति दिन तथा श्रव्य–दृश्य सामग्री प्रसारण गर्ने कार्यमा संलग्न भए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने ब्युरोले पुनः जानकारी गराएको छ ।
