• १२ माघ २०८२, सोमबार

फिजियोथेरापी उपचारप्रति जनविश्वास बढ्दो

blog

उपचारमा आएका बिरामीलाई चिकित्सकले फिजियोथेरापी सिकाउँदै । तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, माघ १२ गते ।
मानिसको बदलिँदो जीवनशैलीसँगै फिजियोथेरापी उपचारप्रति जनविश्वास दिनप्रतिदिन बढ्दै गएको छ । मानव स्वास्थ्यमा फिजियोथेरापीको महत्त्व बढेसँगै गण्डकी अस्पतालको फिजियोथेरापी विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दिनप्रतिदिन उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ ।

गण्डकी अस्पताल फिजियोथेरापी विभागका चिकित्सक अजित पाण्डेका अनुसार एक दशकअघि अस्पतालमा फिजियोथेरापी सेवा सुरु गर्दा सेवाग्राहीहरूलाई फिजियोथेरापी के हो भन्ने सामान्य जानकारी समेत थिएन । “त्यो समयमा फिजियोथेरापी सञ्चालन गर्दा धेरैले यसलाई औषधि उपचारसँग मात्र तुलना गर्थे,” उहाँले भन्नुभयो ।

तर पछिल्लो समयमा हाडजोर्नी, घुँडा दुखाइ, ढाड तथा गर्धनको समस्या, नशा च्यापिएको, कुम जाम भएको लगायतका रोगहरूमा फिजियोथेरापी उपचार विधिले दीर्घकालीन लाभ दिने विश्वास बढ्दै गएको छ । यही कारण अस्पतालको फिजियोथेरापी ओपिडी शाखामा दैनिक ६० देखि ९० जना बिरामीले उपचार तथा परामर्श लिने गरेका छन् ।

अहिले हाडजोर्नी तथा नशासम्बन्धी समस्याका बिरामीहरू चिकित्सकको सिफारिसबिनै आफैं फिजियोथेरापी विभागमा परामर्श लिन आउने गरेको विभागले जनाएको छ। यद्यपि, फिजियोथेरापीसम्बन्धी अझै व्यापक जनचेतना फैलाउन आवश्यक रहेको चिकित्सक पाण्डेको भनाइ छ ।

फिजियोथेरापी के हो ?
सामान्य भाषामा भन्नुपर्दा थेरापी भनेको उपचार हो । फिजियोथेरापी भनेको शारीरिक व्यायाम तथा विभिन्न उपकरणको सहायताले गरिने उपचार विधि हो । यस उपचारमा औषधीको प्रयोग नगरी शरीरका समस्या समाधान गरिने भएकाले साइड इफेक्टको जोखिम कम हुने चिकित्सकहरू बताउँछन् ।

कसका लागि उपयोगी ?
फिजियोथेरापी फिटनेसका लागि, रोगको रोकथामका लागि तथा रोग लागिसकेपछि उपचारका लागि अत्यन्त प्रभावकारी मानिन्छ । हाडजोर्नीसम्बन्धी समस्या, घुँडा दुखाइ, ढाड तथा गर्धनको नशा च्यापिएको अवस्था, कुम जाम भएको, प्यारालाइसिस (स्ट्रोक), जन्मजात शिशुका हातखुट्टा नचल्ने समस्या, प्लाष्टरपछि जोर्नी जाम भएको, अप्रेसनपश्चात तथा स्वासप्रस्वाससम्बन्धी रोग (निमोनिया) मा फिजियोथेरापी उपयोगी हुने चिकित्सक पाण्डेले जानकारी दिनुभयो ।

फिजियोथेरापी र थेरापीबिचको फरक
अस्पतालमा आउने धेरै बिरामीहरूले ‘थेरापी गराउनु छ’ भन्ने गरे पनि वास्तविक उपचार विधि फिजियोथेरापी नै भएको चिकित्सक पाण्डे बताउनुहुन्छ । फिजियोथेरापीमा रोगको पहिचान गरी आवश्यक व्यायाम, विद्युतीय उपकरण तथा म्यानुअल थेरापी (हातले गरिने उपचार) प्रयोग गरेर उपचार गरिन्छ ।

फिजियोथेरापीको अर्थ प्रष्ट नहुँदा कतिपय बिरामीहरूले यसलाई न्याचुरोथेरापी वा आयुर्वेदिक थेरापीसँग भ्रमित हुने गरेको भन्दै उहाँले सही जानकारी लिन आवश्यक रहेकोमा जोड दिनुभयो । फिजियोथेरापीको व्यापक प्रचार–प्रसार भएमा समाजमा मानिसहरूले सरल, सहज र सुलभ रूपमा आरोग्यता प्राप्त गर्न सक्ने चिकित्सकहरूको विश्वास छ ।