भवानीदत्त भट्ट
कञ्चनपुर माघ ११ गते । कञ्चनपुरमा ७३ औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । जिल्लाको कुष्ठरोग प्रभावित क्षेत्र बेदकोट नगरपालिका –५ धर्मपुरमा आइतबार “कुष्ठरोगको छ ओखती, सामाजिक लान्छाना र विभेद मुख्य चुनौँती” नारासाथ ७३ औं विश्व कुष्ठरोग दिवस मनाइएको हो ।
यस अवसरमा कृष्ठरोगीका बिरामीहरूलाई घाउमा प्रयोगका सामग्री तथा औषधी हस्तान्तरण गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र धरपुरको आयोजना तथा स्वास्थ्य कार्यालयको समन्वयमा कुष्ठरोग दिवस मनाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।
विगतमा बेदकोटको धर्मपुर कुष्ठरोग प्रभावित क्षेत्र रहे पनि हाल यस क्षेत्रमा कृष्ठरोगी न्यून रहेको उहाँले बताउनुभयो । दिवसको अवसरमा कुष्ठरोगबाट प्रभावित बिरामीलाई बेदकोट वडा ५ का अध्यक्ष चित्रदेव भट्टले घाउमा लगाउने मलमपट्टी लगायत घरायसी प्रयोजनका सामग्री जग, बाल्टीसहित औषधी उपचार तथा विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको उहाँले बताउनुभयो ।
कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म ९ जना कुष्ठरोगी उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये चालु आवमा कुष्ठरोग फेला परेका बेलौरी नगरपालिका र लालझाँडी गाउँपालिकाका २–२ जना र भीमदत्त नगरपालिकाको १ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले बताउनुभयो ।
बेदकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चित्रदेव भट्टको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत एवम् सूचना अधिकारी लेखक हुनुहुन्थ्यो ।