अविनाश चौधरी
धनगढी, माघ ११ गते। राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीला भण्डारी र नेपाली काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ।
आज भएको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई पराजित गरी उहाँहरु राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो। महिलातर्फ एमालेका भण्डारीले तीन हजार ९८४ मतभार प्राप्त गरेर जित हासिल गर्नुभयो। उहाँकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका रोजी बस्नेत सुनारले एक हजार ६७६ मतभार प्राप्त गर्नुभयो।
यसैगरी, अन्यतर्फ विजयी कांग्रेसका खातीले तीन हजार ९६९ मतभार प्राप्त गरी जित हात पार्नुभयो। उहाँको प्रतिद्वन्द्वी टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गर्नुभयो। एक प्रदेश सभा सदस्य बराबर ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष बराबर १९ मतभार रहेको छ। यो निर्वाचनका लागि एमाले र कांग्रेसले गठबन्धन गरेका थिए।
प्रदेश सभाका ५१ र स्थानीय तहका १७३ गरी कुल २२४ मतदाता रहेको यस प्रदेशमा २२० मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो।