ललित बसेल
सुर्खेत, माघ ११ गते । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाली कांग्रेसका उम्मेदवार ललितजङ्ग शाही र नेकपा (एमाले) का उम्मेदवार मिनासिंह रखाल बिजयी हुनुभएको छ ।
आइतबार बिहान भएको मतदानमा शाहीले प्रदेश सभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्तगरी बिजयी हुनुभएको हो । रखालले प्रदेश सभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अन्जु महतराले प्रदेश सभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत तथा बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले मतदानमा प्रदेशसभातर्फ ४० मध्ये ३९ मत र स्थानीय तहतर्फ १५८ मध्ये १५२ मत खसेको बताउनुभयो । प्रदेश सभातर्फ एक मत खसेन भने स्थानीय तहतर्फ ६ मत बदर भएको जानकारी उहाँले दिनुभयो । निर्वाचनमा प्रदेशसभा सदस्यहरुको मतभार ५३ र स्थानीय तहतर्फको मतभार १९ रहेको थियो ।
कर्णालीमा एक महिला र एक अन्य गरी दुई पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय सभामा निर्वाचित जुम्लाका शाही नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति हुनुहुन्छ भने दैलेखका रखाल नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।