सिराज खान
नेपालगन्ज, माघ ११ गते । नेपाल सरकारका पूर्वमन्त्री तथा नेकपा (एमाले) बाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले गर्न बाँकी रहेका विकास निर्माणका कामलाई पूरा गर्न आफू पुनः जनताको अदालतमा उभिएको बताउनुभएको छ ।
नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेला र डुडुवामा आयोजना गरिएको जनभेलालाई आज सम्बोधन गर्दै उहाँले आफूले विगतमा यस क्षेत्रको धेरै विकास गरेको स्मरण गर्दै बाँकी रहेका कामलाई पूरा गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
पूर्वमन्त्री राईले गत तीन वर्ष आफू सांसद नभएपछि यस क्षेत्रमा कुनै पनि विकास निर्माण हुन नसकेको बताउनुभयो । पुनः विकासलाई तिव्रता दिन आफूलाई जनताको सहयोग चाहिएको बताउनुभयो ।
आफूले सधैं विकास र सामाजिक सदभावको कामलाई प्राथमिकतामा राखेर जनसेवा गर्दैआएको प्रष्ट पार्दै उहाँले भन्नुभयो, “मैले सधैं विकास निर्माणलाई प्रमुख प्राथमिकतामा राख्दैआएको छु, तीन पटक मन्त्री हुँदा क्षेत्र र जिल्लाका लागि धेरै योजना ल्याएको हुँ । सामाजिक र धार्मिक सदभावका लागि पनि मैले सधैं सबैलाई एकजुट गर्दै आएको छु ।”
आफूले क्षेत्र र जिल्लाका लागि विगतमा गरेका कामको मुल्याङ्कनसँगै गत तीन वर्षको अवधिमा केही नभएको मुल्याङ्कन गरेर मतदान गर्न पूर्वमन्त्री राइले आग्रह गर्नुभयो ।
नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सूर्य ढकालले गत तीन वर्षको अवधीलाई मुल्याङ्कन गरेर मतदान गर्न जनतालाई आग्रह गरेको बताउनुभयो ।