शशिधर पराजुली
विराटनगर, माघ ११ गते । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल सात हजार ४२३ मतसहित निर्वाचित हुनुभयो । पोर्तेलले सूर्य चिन्हमा प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी खेमराज सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ गरी कुल दुई हजार ३७ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, महिलातर्फ गठबन्धनकै रोशनी मेचे सात हजार १७३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी नेता नमिता न्यौपानेले दुई हजार २६८ मत प्राप्त गर्नुभयो ।
कोशी प्रदेशसभा अन्तरगत ८७ सांसदले मतदान गरेकोमा महिलातर्फ सूर्य चिह्नमा ६४ र तारा चिह्नमा २२ मत परेको थियो भने स्थानीय तहतर्फ सूर्य चिह्नमा १९९ र तारा चिह्नमा ५८ मत प्राप्त भएको थियो। निर्वाचनमा दुवैतर्फ एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच अन्य समूहतर्फ नेपाली कांग्रेसका नेपाली कांग्रेसका सुनिल थापा यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले भने मत बढाएका छन् । नेकपासँग १५८५ मत रहेको भएपनि दुवै उम्मेदवारले दुई हजार भन्दा बढी मत प्राप्त गर्नुभयो ।