काठमाडौँ, माघ ११ गते ।अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद पौडेल, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा. सुभासप्रसाद आचार्य तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा.रत्नमणि गजुरेलको उपस्थितिमा छलफल भएको हो।
स्वास्थ्य बीमासम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा सुधार, वैज्ञानिक र पारदर्शी दाबी मूल्याङ्कन प्रणालीलाई थप सुदृढ बनाउने तथा स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भई छलफल गरिएको छ ।
उक्त छलफलमा स्वास्थ्य बीमाका नीतिगत सुधार, वैज्ञानिक दाबी मूल्याङ्कन प्रणालीको सुदृढीकरण, आपसी समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउँदै अस्पतालबाट उठाइएका विषयमा विज्ञबीच थप परामर्श गरी यथाशीघ्र स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको बिमा बोर्डले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालले उपचार सेवा वापतको रकम बक्यौता लामो समय देखि सोधभर्ना हुन नसकेको भन्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको थियो ।