• ११ माघ २०८२, आइतबार

सहिद परिवारलाई सम्मान

blog

स्वर्गीय लिलाबहादुर थापाका दाजु मिन बहादुर थापालाई दोसल्ला ओडाएर सम्मानित गर्नु हुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाह तथा सशस्त्र प्रहरी नायव उपरीक्षक कुमार तिमिल्सिना । तस्बिर : राधाकृष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), माघ ११ गते । स्याङ्जाको वालिङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्मको स्थापना दिवस पारेर सहिद परिवारका सदस्यलाई सम्मानित गरिएको छ ।

गुल्म हेडक्वाटर वालिङमा आयोजना गरिएको कार्यक्रममा पूर्व हवल्दार स्वर्गीय लिला बहादुर थापाका दाजु मिनबहादुर थापालाई सम्मानित गरिएको हो । मझकुर सशस्त्र प्रहरी बल नेपाल नं. ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले सम्मानित गर्नुभएको हो । 

तत्कालिन सशस्त्र प्रहरी बल तालिम केन्द्र वालिङमा कार्यरत हवल्दार थापाको २०५८ सालमा दोहोरो भिडन्तमा ज्यान गएको थियो । कालीगण्डकी गाउँपालिका–३ का थापाको दाङको सतवरियामा माओवादीसँगको भिडन्तमा ज्यान गएको उहाँको दाजु मिनबहादुरले बताउनुभयो । 

सशस्त्र द्वन्द्वकाे अवस्थामा २०५८ साल माघमा स्थापना भएको तालिम केन्द्रलाईपछि गुल्म बनाइएको गुल्मपति कुमार तिमिल्सिनाले जानकारी दिनुभयो । 

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले जिल्लाको शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । शान्ति सुरक्षासहित विपत्ति लगायतका घटनाहरुमा स्थानीयको साथ र सहयोगबाट काम गर्दै आएको स्पष्ट पार्नु भयो । 

सो अवसरमा शाहले आसन्न निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी जवानहरुलाई निर्देशन दिनुभयो । नागरिकहरुको सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरीका लागि स्थायी जग्गा नभएकाले स्थायी जग्गा उपलब्ध गराई सहयोग गर्न उहाँको आग्रह छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले प्राकृतिक विपत्ति लगायतका परिस्थितिमा सशस्त्र प्रहरीले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । 

कार्यक्रममा ३० नं. गुल्मका गुल्मपति तिमिल्सिनाले संगठनले प्राप्त गरेका जिम्मेवारीहरु कुशलता पूर्वक निर्वाह गर्दै आएको बताउनुहुँदै यसका लागि जिल्लावासी नागरिकको ठूलो सहयोग रहेको जानकारी दिनुभयो ।