• ११ माघ २०८२, आइतबार

राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा १४ मतदाता अनुपस्थित

blog

शशिधर पराजुली  

विराटनगर, माघ ११ गते । राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा कोशी प्रदेशका पाँच जना सांसद र नौ जना स्थानीय तहका पदाधिकारीसहित १४ जना मतदानमा अनुपस्थित भएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसद राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो । त्यसका कारण उक्त पार्टीका सांसद सविना बजगाई, गोपाल विश्वकर्मा र निमसरी राजवंशी मतदानमा अनुस्थित हुनुभएको हो । तर, पार्टी निर्णय विपरीत प्रेमराज थाम्सुहाङले भने निर्वाचनमा मतदान गर्नुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राई र नेकपा एमालेकी सांसद यशोदा कायस्थ मतदानमा अनुपस्थित हुनुभयो ।

कोशी प्रदेशमा ९२ जना प्रदेशसभा सदस्य मतदाता रहेकोमा ८७ जनाले मतदान गर्नुभएको निर्वाचन कार्यालय मोरङले जानकारी दिएको छ । 

यसैगरी स्थानीय तहतर्फ दुई सय ६७ मतदाता रहेकोमा दुई सय ५८ जनामात्र मतदानमा सहभागी भएका छन् ।  स्थानीय तहका नौ पदाधिकारी मतदानमा अनुपस्थित रहे । 

जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी हेम बुढाथोकीका अनुसार नेकपा एमालेबाट निर्वाचित पाँथचर याङ्बरकका अध्यक्ष भीम योङ्हाङ, कांग्रेसबाट निर्वाचित ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बू, राप्रपाबाट निर्वाचित हल्दिबारीका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, राप्रपाबाट निर्वाचित भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, नेकपाबाट निर्वाचित आमचोक गाउँपालिका भोजपुरकी उपाध्यक्ष सीता राई, राप्रपाबाट निर्वाचित दमक नगरपालिकाका प्रमुख राम थापा, कांग्रेसबाट निर्वाचित सोलुखुम्बु लिखुपिके गाउँपालिका उपाध्यक्ष नावाङ लाक्पा शेर्पा र जसपाबाट निर्वाचित ओखलढुङ्गा खिजिदेम्बाका अध्यक्षका गोम्बु शेर्पा मतदानका लागि अनुपस्थित रहनुभएको हो । 

कोशी प्रदेशमा तीन पदका लागि पाँच जनाको उम्मेद्वारी परेको छ । अन्य तर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसक्नुभएको छ । 

नेपाली काँग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेद्वारी परेको छ ।