• ११ माघ २०८२, आइतबार

पहरा फोरेर फुटबल मैदान निर्माण

blog

खेल मैदान ।

हरि कोइराला

उर्लाबारी, माघ ११ गते । मोरङको मिक्लाजुङ–४ सफेवामा स्थानीय खेलप्रेमीले पहारा फोरेर खेलमैदान निर्माण गरेका छन् । 

फुटबल खेलका पारखीहरूले स्थानीय सरकारसँग समन्वय गरी राष्ट्रिय वनसँगै जोडिएको पहरा फोरेर खेलमैदान निर्माण गरेका हुन् ।

यसअघि सफेवा खेलमैदान नाइन साइडको थियो । सानो खेलमैदानमा ठूला प्रतियोगिता गर्न समस्या भएपछि खेलमैदान विस्तार गरिएको मिक्लाजुङ युथ क्लबका अध्यक्ष भरत राईले बताउनु भयो । 

राईकाअनुसार माघ १८ गते कोशी प्रदेशका तीन जिल्लाका आठ पालिकाबिच अन्तरपालिका मिक्लाजुङ अध्यक्ष कप फुटबल प्रतियोगिता सोही मैदानमा आयोजना हुने भएको छ । 

प्रतियोगितामा इलामको चुलाचुली गाउँपालिका झापाको दमक नगरपालिका र मोरङका लेटाङ, उर्लाबारी, बेलबारी, पथरीशनिश्चरे नगरपालिका,केराबारी र मिक्लाजुङ गाउँपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् । 

प्रतियोगिताका विजेता टोलीले एक लाख एक हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५१ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । 

त्यसैगरी उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने क्लबका  सचिब सोमबहादुर लिम्बुले बताउनु भयो  ।

मिक्लाजुङ–४ का वडाध्यक्ष विशाल राईले गाउँपालिकाको चार लाख ५० हजार रुपियाँ र ५२ हजार जनश्रमदान गरी पाँच लाख दुई हजार रुपियाँ खर्चेर खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो । 

पहाडमा सम्म खेलमैदान बनाउन धेरै समस्या थियो । मैदान बन्यो, अब मैदानसम्म पुग्ने राम्रो सडक आवश्यक छ । उहाँले पहाडी भागमा खेलमैदानको अभावमा खेलाडी उत्पादन गर्न समस्या भइरहेको बताउनुभयो ।