• ११ माघ २०८२, आइतबार

गण्डकीमा २२३ द्वारा मतदान, तीन अनुपस्थित

blog

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, माघ ११ गते। राष्ट्रिय सभा सदस्यको आइतबार भएको मतदानमा गण्डकी प्रदेशमा दुई सय २३ जनाले मतदान गर्नुभएको छ। स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी एक सय ६६ जना र प्रदेशसभाका ५७ जनाले मत हाल्नुभएको हो।

गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एक स्थान रिक्त छ। ५९ प्रदेशसभा सदस्यमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई प्रदेशसभा सदस्यले मत हाल्नुभएन। राप्रपाले राष्ट्रियसभा मतदानमा भाग नलिने निर्णय गरेको थियो। प्रदेशका ८५ स्थानीय तहका एक सय ७० प्रमुख÷उपप्रमुखमध्ये तीन जना आइतबार अनुपस्थित हुनुभयो। 

स्याङ्जाको वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी विदेशमा हुनुहुन्छ भने स्याङ्जाको कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापामगरले राजीनामा दिइसक्नुभएको छ। उहाँ आउँदो प्रदेशसभा निर्वाचनमा एमालेबाट स्याङ्जा २ का उम्मेदवार हुनुहुन्छ। मनाङको नार्पाभूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामा पनि मतदान गर्न आउनुभएन। 

नेकपा (एमाले)बाट निर्वाचित ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवबहादुर नेपाली भने अहिले पुर्पक्षका लागि जेलमा भएकाले मत हाल्न आउन पाउनुभएन। गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिन लाग्दा यहाँ चुनाव भएको हो। 

प्रदेशमा नेपाली कांग्रेसले प्राडा जगत तिमिल्सिना र एमालेले सम्झना देवकोटालाई उम्मेदवार उठाएका छन्। कांग्रेस एमाले गठबन्धनसँग यहाँ नेकपाका कपिल लामा र गोमा घिमिरेसहित राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल र लक्ष्मी बास्कोटा मैदानमा छन्। राष्ट्रियसभामा प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ।