काठमाडौँ, माघ ११ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्यको निर्वाचन मर्यादित बनाउन साइबर ब्युरोको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । निर्वाचन मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले बर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सुक्ष्म ढंगले अनुगमन गर्दै त्यस्ता अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालको नियमनका लागि खेल्नु पर्ने भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।
ब्युरोबाट नियमित र विशेष रूपमा प्रदान गरिने सेवाबारे ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबिन्द अर्यालबाट जानकारी लिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
ब्युरोले निर्वाचनको समय अझै बढी सक्रिय भएर स्वचालित ढंगले कार्यालय सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमलाई माथिको आदेश कुर्नु नपर्ने र अवैधानिक पोस्ट तथा मिथ्या जानकारीलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभयो।
समाजमा सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा सामाजिक सञ्जालको दुरुपयोग हुन नदिई फागुन २१ गतेको निर्वाचनको माहौल बनाईराख्न पनि ब्युरोले अहिले गरेको कार्यमा थप तदारुकताका साथ काम गर्नु पर्नेमा मन्त्री अर्यालले जोड दिनुभयो।
कतिपय व्यक्ति, संस्था र समूहले गर्ने र हाल्ने पोस्टहरू कत्तिको तथ्यपरक र सही हुन् त्यसको जानकारी लिई ब्युरो आफैले त्यस्ता पोस्ट र जानकारी हाल्नेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न गृहमन्त्री अर्यालले ब्युरो प्रमुखलाई निर्देशन दिनु भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताउनुभयो।
गृहमन्त्री अर्यालसहितको एक सरकारी टोलीले आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौँको हनुमानढोकामा अवस्थित पुरानो काठमाडौँ प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गर्नुभएको छ।
गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित ब्युरो कार्यालय पुग्नु भई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुको साथै सेवालाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिनुभयो।