काठमाडौँ, माघ ११ गते । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप व्यक्तित्व विकास तथा राष्ट्रनिर्माणमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।
नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘‘विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप व्यक्तित्व विकास तथा राष्ट्रनिर्माणमा सदुपयोग गर्न आग्रह छ, सकेसम्म नेपालमै अवसर खोज्न, अवसर नभएका ठाउँमा नयाँ अवसर सिर्जना गर्न र जहाँ गए पनि देशले गर्व गर्न सक्ने नागरिक बन्न अनुरोध छ ।’’
काठमाडौँको भृकुटीमण्डपमा आइतबार सम्पन्न समारोहमा तीनवटा सङ्कायका ५४५ विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पदक प्रदान गरिएको थियो ।
२०७३ सालमा स्थापना भएको नेपाल खुला विश्वविद्यालयको यो पहिलो दीक्षान्त समारोह हो । समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा रहनुभएको थियो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति सुशीला कार्की ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति कार्कीले कुलपतिका हैसियतमा प्रथम दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले विभिन्न संकायअन्तर्गत दीक्षित भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै विश्वविद्यालयलाई यहाँसम्म ल्याइपुर्याउन योगदान गर्ने पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले २०७४ सालदेखि सामाजिकशास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायअन्तर्गत स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन गर्दै विश्वविद्यालय अघि बढिरहेको उल्लेख गर्नुभयो ।
नेपालभित्र मात्र नभई विदेशमा रहेका विद्यार्थीलाई पनि खुला तथा दूर सिकाइमार्फत सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।
छोटो समयमा नै नेपाल खुला विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आगामी दिनमा विश्वविद्यालयले समयसापेक्ष, रोजगारमूलक, उद्यमशीलतामुखी तथा अनुसन्धान र नवप्रवर्तनमा आधारित जनशक्ति उत्पादनमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
भौतिक रूपमा कक्षामा उपस्थित हुन नसक्ने दुर्गम स्थानका तथा विभिन्न काम–व्यवसायमा व्यस्त विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्न खुला विश्वविद्यालयको भूमिका अझ सशक्त बन्नुपर्ने उहाँको धारणा थियो ।
युवाहरूको बदलिँदो अपेक्षालाई ध्यानमा राख्दै प्रतिभा पलायन रोक्ने र ज्ञान तथा सीपलाई राष्ट्रनिर्माणमा उपयोग गर्ने चुनौती रहेको भन्दै त्यसमा उच्च शिक्षा प्रदायक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालय आन्तरिक रूपमा सबल भई बढीभन्दा बढी विद्यार्थीलाई शिक्षाको मूलधारमा समेट्नुपर्नेमा जोड दिनुभयो । विज्ञान तथा प्रविधिको तीव्र विकासलाई आत्मसात् गर्दै विश्वव्यापी र रैथाने ज्ञान समेटेर शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
जीवनपर्यन्त सिकाइमा लाग्नु
समारोहमा प्रमुख अतिथि शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले जीवनपर्यन्त सिकाइमा लाग्नु र कठिन अवस्थामा पनि सिकाइलाई निरन्तरता दिनसक्नु खुल्ला विश्वविद्यालयका विद्यार्थीको दायित्व हुने बताउनुभयो ।
कार्यक्रमा सहभागी विभित्र सङ्कायका उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको थियो । विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायमा उच्चशिक्षा दिँदै आएको छ ।
खुल्ला विश्वविद्यालयका उपकुलपति डा शिलु मानन्धर बज्रचार्यले व्यस्त जीवनशैली बिताइरहेका व्यक्तिलाई खुल्ला विश्वविद्यालयमार्फत दूरशिक्षाका माध्यमबाट सहज रूपमा उच्चशिक्षा दिँदै आएको बताउनुभयो ।