रामकृष्ण बोहरा
बागलुङ, माघ ११ गते। प्रतिनिधिसभा निर्वाचनमा बागलुङको क्षेत्र नम्बर १ मा विद्यार्थी आन्दोलनबाट उदाएका दुई जना चुनावी मैदान हुनुहुन्छ। स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हाल्नुभएका भीम श्रीस र हिराबहादुर केसीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। श्रीस नेपाली कांग्रेस र केसी नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्छ।
कांग्रेसका उम्मेदवार श्रीस नेपालकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका पूर्व स्ववियु सभापति हुनुहुन्छ। उहाँ २०६२ देखि २०६५ सालसम्म केन्द्रीय क्याम्पसको सभापतिसँगै त्रिवि सभाको सदस्य समेत हुनुभएको थियो। श्रीसले त्रिविमा दुई कार्यकाल सदस्य, उपसभापति र सभापतिको जिम्मेवारी सम्हाल्नुभएको छ।
श्रीस नेपाली कांग्रेसको १२, १३ र १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित हुनुभएको थियो। क्रिकेट सङ्घ क्यानका केन्द्रीय रेफ्रीसमेत रहनुभएका श्रीसले त्रिवि क्रिकेट रङ्गशाला निर्माण समितिमा पनि रहेर काम गर्नुभएको थियो।
श्रीसले आफू बारम्बार पार्टीको प्रतिनिधि भएर पार्टी रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस पटक जनताको जनप्रतिनिधि बनाउन नेता तथा कार्यकतालाई आग्रह गर्नुभएको छ। कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको ३७ वटै वडाका वडा सभापति सहितको बैठक तथा भेलामा बोल्दै श्रीसले भन्नुभयो, ‘‘सबै सभापतीहरु वडा तहमा पुगेर काँग्रेसको पक्षमा जनलहर पैदा गर्न अभियान सञ्चालन गर्नुपर्छ।’’
एमाले नेता हीराबहादुर केसी बागलुङस्थित धौलागिरी बहुमुखी क्याम्पसका पूर्व सभापति हुनुहुन्छ। २०५७–२०५९ सम्म स्ववियु सभापति बन्नुभएका केसीले धौलागिरी क्याम्पसमा शिक्षा क्षेत्रको सुधारमा भूमिका खेल्दै आएको उहाँका समकक्षी बताउनुहुन्छ। अनेरास्ववियु बागलुङको अध्यक्ष हुँदै केसीले एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घमा केन्द्रीय उपाध्यक्ष र एमाले बागलुङको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो।
प्रखर वक्ता र विकास निर्माणमा चासो राख्ने नेताको रुपमा केसी परिचित हुनुहुन्छ। विद्यार्थी राजनीति उदाउनुभएका केसी जनस्तरमा पुगेर सहकार्य गर्न रुचाउनुहुन्छ। २०७० को संविधान सभा र २०७९ मा पनि उहाँ बागलुङमा उमेदवार हुनुहुन्थ्यो। २०७० को संविधान सभामा उहाँ कांग्रेस नेता हरिबहादुर खड्कासँग र २०७९ को प्रदेश सभा निर्वाचनमा कांग्रेस नेता दीपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो।
तेस्रो पटक चुनावमा होमिनुभएका केसीले मतदाताबाट यसपटक न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ।
बागलुङ १ मा राष्ट्रिय जनमोर्चा र नेकपाका साझा उम्मेदवार कृष्णप्रसाद अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील खड्का चुनावी मैदानमा हुनुहुन्छ। यसअघिको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका साझा उम्मेदवार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुँदा एमालेका उम्मेदवार डा.सूर्य पाठक दोस्रो हुनुभएको थियो।