यदुप्रसाद भट्ट
मनाङ, माघ ११ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय मनाङले वन डढेलो नियन्त्रण तथा प्राकृतिक विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालयलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
मनाङ ङिस्याङ गाउँपालिका वडा नम्बर ४ हुम्डेमा रहेको सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयमा आयोजित कार्यक्रमबीच ती सामग्री हस्तान्तरण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको आर्थिक वर्ष २०८२–८३ का लागि स्वीकृत बजेट तथा कार्यक्रमअनुसार अन्नपूर्ण संरक्षण क्षेत्रभित्र बढ्दो वन डढेलो तथा अन्य प्राकृतिक विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सामग्री प्रदान गरिएको कार्यालयले जनाएको छ ।
वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका साथै आपत्कालीन उद्धार कार्यमा सशस्त्र प्रहरी बलको भूमिकालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित आवश्यक सामग्री उपलब्ध गराइएको एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । हस्तान्तरण गरिएका सामग्रीमा सात÷सात थान बाल्टिन, कोदालो, हँसिया, दाँते, बेल्चा, गैंती र स्वाटर छन् । यसैगरी आठ थान कपडाको टोपी, आठ जोर पञ्जा तथा आठ थान हेल्मेट पनि प्रदान गरिएको छ ।
उक्त सामग्रीहरू सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम केन्द्र मनाङ हुम्डेले बुझिलिई भरपाई गरिदिएको छ । सामग्री बुझबुझारथ कार्यक्रमअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तर्फबाट कार्यालय प्रमुख ढकबहादुर भुजेल तथा सशस्त्र प्रहरी बलको तर्फबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख भुजेलले अन्नपूर्ण संरक्षण क्षेत्र संवेदनशील भूभाग भएकाले वन डढेलो तथा प्राकृतिक विपद्को जोखिम सधैँ रहिरहने उल्लेख गर्नुभयो । त्यस्ता जोखिम न्यूनीकरण तथा समयमै उद्धार कार्य गर्न सशस्त्र प्रहरी बलसँग सहकार्य गर्दै आवश्यक सहयोग निरन्तर गरिने उहाँले बताउनुभयो । सशस्त्र प्रहरी उपरीक्षक डाँगीले प्राप्त सामग्रीले पर्वतीय क्षेत्रमा हुने उद्धार तथा विपद् व्यवस्थापन कार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।