शिवशङ्कर मिश्रा
बारा, माघ ११ गते । प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आइतबार बिहान ७ बजे वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००२-ख ४१०२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको मधेश प्रदेश ०३-०२७ प ५८२९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक कलैया उपमहानगरपालिका-३ निवासी जय गुप्ताको २० वर्षीय छोरा आयुष गुप्ता गम्भीर घाइते भएका थिए । उहाँलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुर लगिएकोमा इसीजी परीक्षणपछि ८ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।
सोही स्कुटरमा पछाडि सवार वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा निवासी विनोद साह कानुको ३० वर्षीय छोरा मौसमकुमार साह घाइते भएका छन् । उहाँको दाहिने हात र टाउकोमा चोट लागेको र एलएस न्युरो अस्पतालमै उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनापछि फरार रहेका ट्रक र रौतहटको चन्द्रपुर नगरपालिका-२ चौधरी टोलका २४ वर्षे चालक दिपेश चौधरीलाई कलैयाको हनुमानचोकबाट प्रहरीले खोजतलासका क्रममा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।