• ८ माघ २०८२, बिहिबार

टी–२० विश्वकप : अभ्यास खेलमा श्रीलङ्का ‘ए’ सँग नेपालको दोस्रो हार

blog

ब्याटिङ गर्दै नेपालका कप्तान रोहित पौडेल । तस्बिर : क्यान

काठमाडौँ, माघ ८ गते । आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपालले श्रीलङ्का ‘ए’ सँग लगातार दोस्रो हार खेपेको छ । 

कोलम्बो कोल्ट्स क्रिकेट क्लब मैदानमा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली श्रीलङ्कासँग ७३ रनले पराजित भयो । 

जितका लागि श्रीलङ्का ‘ए’ ले दिएको दुई २३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा एक सय  ४९ रनमा समेटियो । नेपाल यसअघि पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । 

नेपालका लागि करण केसीले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै लोकेश बमले २५ र कप्तान रोहित पौडेलले १८ रन बनाउनुभयो । अन्या ब्याट्सम्यान चल्न सकेनन् । 

बलिङमा श्रीलङ्काका नुवान तुषाराले तीन विकेट लिनुभयो । चरिथ करुणारत्ने र मादी हेमन्थाले दुई दुई विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काकाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा  दुई सय २२ रन बनाएको थियो । 

श्रीलङ्काकाका लागि लाहिरु उदाराले ९३ रन बनाउनुभयो । यस्तै सहन आराच्चिगे अविजित ५५ र लसिथ क्रुसपुलेले ५३ रन बनाउनुभयो । 

बलिङमा नेपालका कुशल भुर्तेल र नन्दन यादवले दुई दुई तथा करण केसीले एक विकेट लिनुभयो । दुई टोलीबिच तेस्रो खेल शनिबार हुने छ ।

त्यसपछि नेपाली टोली थप तयारीका लागि उतैबाट टोली भारत जाने छ । नेपालले भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट११ सँग तीन वटा टी२० अभ्यास खेल खेल्ने छ । 

विश्वकपमा नेपाल कठिन समूहमा 

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ ।

कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ ।

नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने छ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो ।

नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ । 

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् ।