• ७ माघ २०८२, बुधबार

मुगुमा ७ दलका उम्मेदवारले मनोनयन दर्ता गराए

blog

मुख्य निर्वाचनको कार्यालयमा मनोनयन दर्ता गराएका राजनीतिक दलका उम्मेदवारहरु । तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, माघ ७ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगुमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको एकमात्र सङ्घीय निर्वाचन क्षेत्रमा क्रियाशील राजनीतिक दलका उम्मेदवारहरूले मुगुको गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मङ्गलबार मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी, नेपाली कम्युनिष्ट  पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), प्रगतिशील लोकतान्त्रिक पार्टीका  उम्मेदवार छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट खड्कबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट पूर्णबहादुर रोकाया, नेपाली कम्युनिष्ट  पार्टी (नेकपा)बाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भवन टमटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट मुना परियार र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ऐट्नकुमार मल्लले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको पूर्व पार्टी जिल्ला सभापति खड्कबहादुर शाहीलाई उम्मेदवार बनाएको हो । शाही पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) पार्टी मुगुका जिल्ला सभापति  पूर्णबहादुर रोकायालाई उम्मेदवार बनाएको छ । पूर्व जिल्ला समन्वय समिति मुगुका प्रमुखसमेत रहनुभएका रोकाया पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्व प्रतिनिधिसभाका  सदस्य र कर्णाली प्रदेशको भूमि व्यावस्था तथा कृषि सहकारी मन्त्रालयका मन्त्रीसमेत रहनुभएका चन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाट भवन टमटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट मुना परियार र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ऐट्नकुमार मल्ल पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको हो ।