अनिल पराजुली
हेटौँडा, माघ ७ गते । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयले दिएको समय अनुसार दलहरुले दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह), नेपाल कम्युनिष्ट पार्टी (माओवादी), मङ्गोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी), जनता समाजवादी पार्टी नेपाल, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी (उनेपा) र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । दलका उम्मेदवारले हेटौँडा बजार परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालय हेटौँडा–११, थानाभर्याङमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । नयाँ पार्टीले युवा उम्मेदवारलाई अगाडि सारेको छ भने पुराना पार्टीले पुरानै र केहीले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा हेटौँडा उपमहानगरपालिकाका १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन् । क्षेत्र नम्बर २ मा हेटौँडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका पर्छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरका तीन लाख १५ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा तीन लाख १५ हजार ३३४ जना मतदाताले मतदान गर्नुहुनेछ । प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत ताराप्रसाद आचार्यका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर दुईमा एक लाख ५६ हजार ८९९ मतदाता छन् । महिला एकलाख ५३ हजार ३७६, पुरुष एकलाख ६१ हजार ९५३ पुरुष र पाँच जना अन्य मतदाता छन् । १०२ वटा वडा रहेको मकवानपुरमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र छन् ।
मतदानका लागि दुई वटा अस्थायी मतदान केन्द्र राखिने छ । कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर र कैदी बन्दीका लागि भिमफेदी कारागारमा अस्थायी मतदान स्थल राखिनेछ । हाल एकहजार बढी कैदीबन्दी भीमफेदी कारागारमा विभिन्न मुद्दामा सजाय भोगिरहनुभएको छ ।
निर्वाचन कार्यालयका शाखा अधिकृत आचार्यका अनुसार २०७९ पछि जिल्लामा १४ हजार ६०१ मतदाता थपिएका छन् । सबैभन्दा बढी हेटौँडा उपमहानगरमा सात हजार १६३ मतदाता थपिएका छन् । मतदाता सङ्ख्या वृद्धि भएसँगै जिल्लामा मतदान केन्द्र पनि थप गरिएको छ । मतदानस्थल साबिककै कायम राखिए पनि मतदान केन्द्र १८ वटा थप गरिएको आचार्यले जानकारी दिनुभयो ।