प्रनिश गिरी
कुश्मा (पर्वत), माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वतबाट १७ जना उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । मैदानमा होमिने उम्मेदवारमध्ये विभिन्न राजनीतिक पार्टीसँग आबद्ध १३ जना छन् भने चार जना स्वतन्त्र उम्मेदवार हुन् ।
उम्मेदवारी दर्ता गराउनेहरुमा पाका उमेर समूहकादेखि युवा पुस्तासम्मका छन् । प्रतिनिधिसभा सदस्यका लागि मैदानमा खडा हुँदै गरेका उम्मेदवारहरुमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले वि.सं.२०५६ सालदेखि चुनाव लड्दै आउनुभएको छ । उहाँले वि.सं.२०५६, २०६४ र २०७० सालमा गरी तीन पटक चुनावमा विजय हात पार्नुभएको थियो ।
कांग्रेस नेता जोशी यसपालि चुनाव लड्दा छैटौ पटक चुनाव लड्नुहुनेछ । नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी वि.सं. २०७४ र २०७९ मा चुनाव लडेर विजयी भइसकेका नेता हुनुहुन्छ भने यसपाली चुनावमा जितेर ह्याट्रिक गर्ने तर्खरमा हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका मनहरि तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुषाल भने पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट दुर्गा मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कृष्णबहादुर विक, आम जनता पार्टी (एकल चुनाव चिन्ह) का पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भीमलाल न्यौपाने पनि चुनावमा प्रतिस्पर्धी रहनुभएको छ ।
चुनावी मैदानमा होमिने अन्य आकांक्षीहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका माया पाइजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीबाट यम बहादुर चोचांगी पुन, मङ्गोल नेशनल अर्गनाइजेशनबाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालबाट वीरबहादुर गुरुङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार स्वतन्त्रबाट उम्मेदवार हुनुहुनेमा सीतादेवी शर्मा, सावित्री शर्मा, मीना पौडेल शर्मा र गङ्गालाल रिमाल हुनुहुन्छ । जिल्लामा चुनावी मुख्य प्रतिस्पर्धा भने चार राजनीतिक दलहरु नेपाली कांग्रेस पार्टी, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका उम्मेदवारहरु बिच नै हुने आँकलन छ ।