• २७ फागुन २०८२, बुधबार

उम्मेदवारको चुनावी एजेन्डा ‘पर्यटन विकास’

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, माघ ७ गते ।
आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका मुख्य दलका उम्मेदवारले आफ्नो लक्ष्य पर्यटन प्रवर्धनलाई चुनावी एजेन्डा बनाएका छन् ।

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले पर्यटकीय हिसाबले महत्त्वपूर्ण म्याग्दीको पर्यटन प्रवर्धनका लागि उचित कानुन निर्माणमा आफ्नो प्रयास हुने बताउनु भयो । उम्मेदवारी दर्तापछि उहाँले हिमाली जिल्लाका रूपमा मान्यता पाए पनि हिमाली जिल्लाको सुविधा र हिमालको रोयल्टीसम्म पनि नपाएको अवस्थामा रहेको म्याग्दीले पाउनु पर्ने सुविधा पाउनका लागि प्रयास गर्ने भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाको पहलमा हिमाली जिल्लाका रूपमा सूचिकृत भए पनि सेवा नपाएकाले अब त्यो पाउनुपर्ने उहाँको दाबी थियो ।

पर्यटन क्षेत्रमा म्याग्दी जिल्लाले धेरै लगानी गरेको र उचित प्रतिफल पाउन नसकिरहेको अवस्थामा लागनीको आधारमा प्रतिफल पाउनका लागि पनि आफ्नो पहल हुने उहाँको धारणा थियो । जलश्रोतको धनी जिल्ला म्याग्दी हुँदै गर्दा पनि म्याग्दीले पाउनु पर्ने विद्युत् रोयल्टी पनि पाउनुपर्ने उम्मेदवार श्रेष्ठको भनाइ थियो ।

उहाँले राज्यले पाउनु पर्ने रोयल्टी र स्थानीयले पाउने प्रकृतिक श्रोतको प्रयोग पाउन पर्ने बताउनु भयो । स्थानीयले पाउन पर्ने सामाजिक सुरक्षाको समेत उद्योगहरूबाट पाउन नसकेकाले त्यस्ता कार्यहरू जनताले पाउने वातावरण बनाउनका लागि कानुनी तवरबाटै लिपिबद्ध गर्ने आफ्नो लक्ष्य रहेको बताउनु भएको थियो ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दी जिल्ला जल, जमिन र जङ्गलले भरिपूर्ण भएको जिल्ला भएकाले जिल्लाको समृद्धि र विकासका लागि आफ्नो प्रयास रहने बताउनु भयो । जङ्गल र जमिन तथा जलविद्युतका लागि राम्रो भएको हुनाले यसको प्रयोग गरेर समृद्धिका लागि पहल गर्ने उहाँले धारणा राख्नु भएको थियो ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिकृया दिँदै उहाँले जिल्लाको विकास र समृद्धिका लागि पर्यटन विकासमा ध्यान दिनु पर्ने उहाँको भनाइ थियो । आफू कानुनको विद्यार्थी भएको हुनाले कानुन निर्माण गरेरै समावेसी र अग्राधिकारसहितको अधिकारका लागि आफूले पहल गर्ने उहाँको भनाइ थियो ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले मुक्तिनाथ भ्रमणको मार्ग पर्ने म्याग्दीको पर्यटन विकासका लागि आफ्नो मिसान रहेको उहाँको भनाइ थियो । उहाँले जिल्लामा रहेको नगदेवालीको बजारीकरण र पर्यटन विकासका लागि आफ्नो पहल हुने बताउनु भयो । भ्रष्टाचारको अन्त्य र राज्यमा भएको बेथितिको अन्त्यका लागि आफ्नो प्रयास हुने बताउनु भयो ।

नेकपा माओवादीका उम्मेदवार क्षेत्रबहादुर घिमिरे (ध्रुव)ले म्याग्देली जनताको सेवा गर्नका लागि उम्मेदवारी दिएको बताउनु भयो । उहाँले पहिलो म्याग्देली जनता, दोश्रो नेपाली जनता र तेश्रोमा समग्र मानवजातीको सेवाका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । म्याग्दीको पर्यटन विकास भएको खण्डमा नै म्याग्देली जनताको सेवा हुने उहाँको बुझाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोकाले जिल्लाको समसामयिक विषयलाई उजागर गर्ने धारणा राख्नु भएको थियो । रास्वपाको केन्द्रीय नीति अनुसारकै आफ्नो योजना र जिल्लाको समग्र विकासमा आफ्नो ध्यान हुने बताउनु भएको थियो ।

स्वतन्त्र उम्मेदवार महाविर पुनले हरेकको दिमागमा घण्टी बजाइदिने बताउनु भयो । युवाहरुले पनि एक अर्काको खुट्टा तानातान गरेर बसेको हुँदा सबैको दिमागमा घण्टी बजाउनु पर्ने उहाँको कथन थियो ।

म्याग्दीबाट नविन जिसी र महाविर पुन स्वतन्त्रसहित ११ दल गरेर १३ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनु भएको छ । राष्ट्रिय जनमोर्चाका छेमबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिस्ट पार्टी(माओवादी)बाट ४८ वर्षीय क्षेत्रबहादुर घिमिरे(ध्रुव) नेकपा(एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट अर्जुनबहादुर थापा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्भरबहादुर सुवेदी, नेसनल रिपब्लीकन पार्टीबाट तुलप्रसाद गर्बुजा र मङ्गोल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामाले उम्मेदवारी दर्ता गर्नु भएको छ ।