टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), माघ ७ गते । गुल्मीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं १ बाट २१ र क्षेत्र नं २ बाट २२ गरेर ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयको विवरण अनुसार अहिलेको निर्वाचनमा नयाँ पुराना अनुहारबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
एमालेको केन्द्रीय उपाध्यक्ष गोकर्ण बिष्ट गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएको छ । उहाँ २०५६ सालको निर्वाचनदेखि अहिलेसम्म चुनावी मैदानमा हुनुहुन्छ । बिष्ट २०६४ बाहेका सबै निर्वाचनमा विजयी हुँदै आउनुभएको छ । उहाँले मतदाताहरुले नयाँ अनुहारको खोजीका गरिरहेका बेला आफुले गरेको श्रम, रोजगार, उर्जासहित निर्वाचन क्षेत्रका कामको परिणाम देखाएर भोट माग्ने बताउनुभयो ।
त्यस्तै, गुल्मी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ २०५६ सालदेखि अहिलेसम्म हरेक निर्वाचनमा एमाले उम्मेदवार हुनुहुन्छ । ज्ञवाली २०५६, ०६४ र ०७४ को निर्वाचनमा विजयी बन्नुभएको थियो । मदनभण्डारी राजमार्ग, रेसुङ्गा विमानस्थल, कालिगण्डकी करिडोरसहित मन्त्री र प्रतिनिधि सभा सदस्य हुँदा गरेका काम र राष्ट्रिय जनजिविकाका मुद्दा लिएर आम कार्यकर्ता माझ पुग्ने ज्ञवालीले बताउनुभयो ।
त्यस्तै, कांग्रेस नेता डा. चन्द्र भण्डारीले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । भण्डारी २०७० देखि अहिलेसम्म चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा २०७० र २०७९ मा विजयी बन्नु भएको थियो । उहाँले दुई पटक प्रतिनिधि सभामा हुँदा गरेका काम र आम नागरिकका आर्थिक समाजिक विषयहरुको उठान गर्दै कार्यकर्ता माझमा पुग्ने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीबाट नेता सूदर्शन बरालले उम्मेदवारी दिनुभएको छ । उहाँ २०६४ सालदेखि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिस्पर्धा गर्दै आउनुभएको छ । बराल २०६४ सालमा प्रतिनिधि सभा र २०७४ सालमा लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा र प्रदेशको अनुभव भएकाले आम कार्यकर्तामा आफुले गरेका काम र भावी योजनाका साथनै निर्वाचन अभियानमा गाउँ–गाउँमा पुग्ने बरालले बताउनुभयो ।
गुल्मी क्षेत्र नं २ का लागि नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ प्रतिनिधि सभा उमेदवार बन्नुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठ प्रतिनिधि सभामा पहिलो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ २०७४ सालमा रेसुङ्गा नगरपालिकाको प्रमुख र २०७९ को लुम्बिनी प्रदेश सभामा पराजित हुनुभएको थियो ।
उहाँ लामो राजनीतिक अनुभव र कार्यकर्ताहरुको बिचमा भिजेकाले सोही अनुसार माया र सद्भाव खोज्दै चुनावी अभियान अगाडि बढाउने मनस्थितीमा हुनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीबाट श्रीराम महत प्रनिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा उत्रनु भएको छ । प्रतिनिधि सभा निर्वाचन उहाँका लागि पनि नयाँ हो । महत २०७९ सालको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिका उपप्रमुखमा पराजित हुनु भएको थियो । युवा र काम गर्ने अठोटनै महतको भोट माग्ने आधार हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गुल्मी क्षेत्र नं १ मा सागर ढकाल र क्षेत्र नम्बर २ मा गोबिन्द पन्थीले प्रतिनिधि सभा उमेदवारका लागि उम्मेद्बारी दर्ता गर्नु भएको छ । ढकाल गत निर्वाचनमा शेर बहादुर देउवासँग प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गरेको अनुभव छ । भने पन्थी लामो समय सुरक्षा निकायमा काम गरेर अवकास भएकाले निर्वाचन पहिलो अनुभव हो ।