ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुनसहित म्याग्दीमा १३ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयन दर्ता गराउनुभएको हो । राजनीति दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मङ्गलबार उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गरएका थिए ।
नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी(केबी), नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट युवराज रोका, नेकपा माओवादीबाट क्षेत्रबहादुर घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट डम्बर सुवेदीले मनोनयन दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी, प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देवेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रमसंस्कृति पार्टीबाट विनोद राना, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, स्वतन्त्र उम्मेदवार नविन जिसी र नेशनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजाले उम्मेदवारी दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।
म्याग्दीमा चुनाव लड्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीना दिएर पुन जिल्ला आएपछि चुनावी रौनक फेरिएको छ । पुनको उम्मेदवारीले निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने आँकलन गरिन थालेको छ । मगर समुदायको बाहुल्यता भएको जिल्लामा पुनको उम्मेदवारीले जनजाति समुदायको मत प्रभावित हुने अनुमान गर्न थालिएको छ ।
तीन मुख्य राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएकोमा पुनको आगमनले राजनीतिक दलहरुलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नांगी गाउँमा जन्मिनुभएका पुनको मगर समुदायमा राम्रो प्रभाव छ । उहाँले सुशासन र राजनीतिक स्थायित्वका लागि आफूले उम्मेदवारी दिएको बताउनु भएको छ । मुख्य राजनीतिक दलहरुको संगठन बलियो भएकाले स्वतन्त्रले उम्मेदवारको प्रभाव धेरै नहुने दलका नेताहरुको भनाइ छ ।