• ७ माघ २०८२, बुधबार

युवा पुस्तामा थारू संस्कृतिप्रति आकर्षण बढ्दै

blog

मघौटा नाचको तयारी गर्दै घोराही १७ गुलरियाका युवा पुस्ता । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
घोराही, माघ ७ गते ।
घोराही उपमहानगरपालिका–१७, गुलरियाका अशोककुमार चौधरीलाई आफ्नै मौलिक संस्कृति प्रतिको मोह सानैदेखि थियो । विशेष गरी मादल बजाउने र नाच्ने इच्छा भए पनि परम्परागत शैलीमा सीप नहुँदा लामो समयसम्म त्यो रहर मनमै सीमित रह्यो । तर यस वर्ष अशोकले त्यो अधुरो सपना पूरा गर्नुभएको छ । अहिले उहाँ मघौटा नाचको मादल बजाउँदै गाउँ–गाउँमा थारू संस्कृतिको पहिचान फैलाइरहनुभएको छ ।

माघ पर्व नजिकिँदै गर्दा अशोकले गाउँका अग्रजहरूसँग मादल बजाउने र मघौटा नाच्ने अभ्यास सुरु गर्नुभयो । निरन्तर मेहनत र सिकाइपछि अहिले उहाँ नाच्न आउने युवादेखि वृद्धसम्मलाई मादलको तालमा छमछमी नचाइरहनुभएको छ । “मलाई पहिलेदेखि नै मादल बजाउने रुचि थियो,” अशोकले भन्नुभयो “तर परम्परागत शैली आउँदैनथ्यो । गाउँका दाजु केबी, विकास र वीरेन्द्र चौधरीसँग सिकेपछि अहिले मेरो रहर पूरा भएको छ ।”

उहाँका अनुसार मघौटा नाच केवल मनोरञ्जन मात्र नभई थारु समुदायको इतिहास, पहिचान र सामूहिक भावनासँग जोडिएको सांस्कृतिक धरोहर हो । “अब हाम्रो मौलिक संस्कृति जोगाउन युवाहरू जागरुक भइसकेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘यसपालिको माघ पर्वमा बुबाआमा, छोराछोरी र नातीनातिनीसहित तीन पुस्ता एकसाथ नाचेर माघ मनाउदै नाचेका छौं, यसले संस्कृति पुस्तान्तरणमा सकारात्मक सन्देश दिएको हामीले विश्वास लिएका छौं ।”

यस्तै सोही गाउँकी पुनम चौधरीलाई सानैदेखि नाच्ने रहर थियो । गाउँमा चाडपर्व आउँदा हुने नाचगानले उहाँलाई सधैं आकर्षित गथ्र्यो । तर परम्परागत शैलीमा थारू नाच नाच्न नआउँदा चाहँदा चाहँदै पनि उहाँ लामो समयसम्म दर्शककै भूमिकामा सीमित रहनुभयो । यस वर्ष भने पुनमको त्यो अधुरो रहर पूरा भएको छ । माघ पर्वको अवसरमा गाउँका अग्रजहरूसँग परम्परागत थारू नाच सिकेपछि अहिले उहाँ आत्मविश्वासका साथ नाचिरहनुभएको छ । मौलिक गरगहना, चोल्या र लेहंगामा सजिएर उहाँ मन्डर्यासँग गाउँ–गाउँमा नाच्दै थारू संस्कृतिको सुन्दर प्रस्तुति दिँदै आउनुभएको छ ।

“सानैदेखि नाच्ने मेरो रुचि थियो,’’ पुनले भन्नुभयो “तर चाडपर्वअनुसार नाचिने नाच नाच्न आउँदैनथ्यो । यसपटक माघमा नाच्न पाएपछि मेरो रहर मात्र होइन, आत्मविश्वास पनि बढेको छ । अब त जस्तो नाच पनि नाच्न सक्छु जस्तो लाग्छ ।”

पुनमका अनुसार परम्परागत नाच सिकेपछि आफू संस्कृतिसँग अझ नजिकिएको महसुस भएको छ । युवा युवतीहरूको यस्तो सक्रियताले थारू संस्कृतिको पुस्तान्तरणमा सकारात्मक सङ्केत देखिएको स्थानीय केबी चौधरीले बताउनुभयो । युवायुवतीहरूको बढ्दो सहभागिताले थारू मौलिक संस्कृति जोगाउने अभियानलाई थप बल पुगेको उहाँको भनाइ थियो ।

उसो त, घोराहीको गुलरिया मात्र होइन, दाङका विभिन्न गाउँबस्तीहरूमा पनि पछिल्लो समय युवाहरू थारू संस्कृतिको संरक्षण र प्रवर्धनतर्फ आकर्षित हुँदै गएका छन् । विगतका वर्षहरूमा माघ पर्वमा प्रायः बुढापाकाहरूले मात्र मघौटा नाच प्रस्तुत गर्ने प्रचलन थियो । तर यस वर्ष युवा पुस्ताको उल्लेखनीय सहभागिता देखिएको थारू कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य एवम् साँस्कृतिक अभियन्ता भुवन चौधरीले बताउनुभयो । “यो एउटा जागरण पनि हो, उहाँले भन्नुभयो,’’ यस्तो जागरणले युगौयुगसम्म लैजानुपर्छ, जसले सदियौं वर्षसम्म स्थानिय कला, संस्कृतिको संरक्षण र प्रवर्धनमा सहयोग पुर्‍याउछ ।”