कर्णाली प्रदेश ब्युरो
सुर्खेत, माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटा जिल्लामा मङ्गलबार शान्तिपूर्वक उम्मेदवार मनोनयन दर्ता भएको छ । जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवार मनोनयन समयभित्र विभिन्न राजनीतिक दलका उम्मेदवारले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिन सभा निर्वाचनका लागि कर्णालीका १२ निर्वाचन क्षेत्र छन् । जसमा मुख्य गरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो पार्टीलगायतले उम्मेदवारी मनोनयन गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार मनोनयनका लागि विभिन्न दललाई समय छुट्याएको थियो । सो अनुरूप दलले बाजागाजा र कार्यकर्ता उपस्थित गराएर तामझामका साथ मनोनयन दर्ता गराएका छन् ।
सुर्खेतमा तिस जनाको उम्मेदवारी
सुर्खेत समाचारदाताका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतको दुई वटा निर्वाचन क्षेत्रमा गरी ३० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । सुर्खेत क्षेत्र नं. १ मा १३ र क्षेत्र नं. २ मा १७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट विष्णुबहादुर खड्का, नेकपा (एमाले) बाट ध्रुवकुमार शाही, नेपाली कम्युनिस्ट पार्टीबाट जितबहादुर राना, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविकिरण हमाल, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडीमगर, नेकपा माओवादीबाट हिरू शाही, श्रम संस्कृति पार्टीबाट वीरबहादुर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आमजनता पार्टीबाट रमेश सेन्चुरी, जनता समाजवादी नेपाल पार्टीबाट धनसिंह सार्की, उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट र मितेरी नेपाल पार्टीबाट प्रकाश बुढामगरले मनोनयन दर्ता गराउनुभएको छ । कांग्रेस उम्मेदवार विष्णुबहादुर खड्का नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका सहोदर भाइ हुनुहुन्छ ।
सुर्खेत क्षेत्र नं. २ मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ भने तीन जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट नारायणकुमार कोइराला, नेकपा (एमाले) बाट कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेशकुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविराम पुरी र जनता समाजवादी नेपाल पार्टीबाट दीपबहादुर नेपालीले मनोनयन दर्ता गराउनुभएको छ । यसै गरी उज्यालो नेपाल पार्टीबाट गम्भीरसिंह भुल, नेपाल मजदुर किसान पार्टीबाट तुलक्षी खड्का, नेकपा माओवादीबाट धर्मराज देवकोटा, गतिशील लोकतन्त्र पार्टीबाट पवन थापामगर, राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेकपा (संयुक्त) बाट प्रेमबहादुर तारामी र श्रम संस्कृति पार्टीबाट राजेन्द्र रामजाली र जनसेवा पार्टीबाट हृदयेन्द्र अधिकारी तथा स्वतन्त्रबाट उदिराम चुनारा, कृष्ण खत्री र रमेश परियारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
हुम्लामा आठ पार्टी
हुम्ला र रलिङ समाचारदाताका अनुसार हिमाली जिल्ला हुम्लामा राजनीतिक दलले हर्षोल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । हुम्लामा आठ वटा पार्टीको उम्मेदवारी परेको छ । दलहरूले निकै उत्साह र हर्षका साथ आआफ्नो दलका तर्फबाट उम्मेदवारी दर्ता गराउने काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो । उहाँका अनुसार फागुन २१ गतेको प्रतिनिधि सभाको सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराउने दलमा नेपाली कांग्रेसबाट जयपति रोकाया, नेकपा (एमाले) का तर्फबाट दलबहादुर फडेरा, राप्रपाबाट छक्क बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट डा. दीपेन्द्र रोकाया, रास्वपाका तर्फबाट टासी लाङ्जोमले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि रास्वपाले बन्द सूचीमा नाम समावेश गरिएकी लाङ्जोमको अन्त्यमा उक्त पार्टीले नाम हटाएको थियो । प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्की, नेकपा माओवादीका कुम्भ बुढा, मितेरी पार्टीका तर्फबाट जयबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक रहेको हुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सबै नयाँ अनुहार रहेका छन् ।
जाजरकोटमा दस पार्टीको उम्मेदवारी
जाजरकोट र खलङ्गा समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जाजरकोटमा राष्ट्रिय जनमोर्चाबाट छेडागाड नगरपालिका–१० का रत्नबहादुर खड्का, उज्यालो नेपाल पार्टीबाट छेडागाड नगरपालिका–५ का कर्णबहादुर नेपाली, नेकपा माओवादीबाट बलबहादुर मल्ल (पौरख), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मेखबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राघव कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्णविक्रम शाह, मजदुर किसान पार्टीबाट धनिराम जैसीले उमेदवारी दर्ता गराउनुभएको छ । जाजरकोटमा १० वटा पार्टीले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीबाट भेरी नगरपालिका–१ का शक्तिबहादुर बस्नेत, नेकपा (एमाले) बाट बारेकोट गाउँपालिका–५ का डम्बरबहादुर सिंह, नेपाली कांग्रेसबाट शिवालय गाउँपालिका–९ का खडकबहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले बताउनुभयो । मुख्य गरी नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गर्नुभएका खडकबहादुर बुढा, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र नेकपा (एमाले) डम्बरबहादुर सिंहले देश र जनताका लागि उम्मेदवारी दिएको दाबी गर्नुभएको छ ।
रुकुमपश्चिममा बाह्र जनाको उम्मेदवारी
मुसीकोट समाचारदाताका अनुसार रुकुमपश्चिममा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न १२ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृत दिलीप थापामगरले नेपाली कांगे्रसका तर्फबाट राजु केसीको उम्मेदवारी दर्ता भएको बताउनुभयो । नेकपा (एमाले) का तर्फबाट नन्दराम देवकोटाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल शर्माको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनार्दन शर्माको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मानबहादुर शाहीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा माओवादीका तर्फबाट चन्द्रबहादुर बुढा, उज्यालो नेपाल पार्टीका तर्फबाट नरेन्द्र केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेकपा (संयुक्त) का शेरबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका धनबहादुर विक र आमजनता पार्टीका प्रेमा परियार नेपालीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सल्यानमा सोह्र उम्मेदवार
शारदा समाचारदाताका अनुसार सल्यानमा १६ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेसबाट पार्टी सभापति केशबहादुर विष्टले प्रतिनिधि सभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनुभयो । नेकपा (एमाले) का तर्फबाट कर्णाली प्रदेश अध्यक्ष गुलाबजङ्ग शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रमेशकुमार मल्लले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का तर्फबाट चन्द्रबहादुर खड्का ‘असल’, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितकुमार चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपालीको उम्मेदवारी परेको छ ।नेपाल मजदुर किसान पार्टीका उम्मेदवार लालबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ भने नेसनल रिपब्लिक नेपाल पार्टीका डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोषकुमार राई, आमजनता पार्टीका मानसिंह कामी, संयुक्त नागरिक पार्टीका कालिदास विकले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्रतर्फबाट ध्रुवराज वली र जुद्धबहादुर सिंहले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट बालासिंह घर्ती र श्रम संस्कृति पार्टीबाट धनबहादुर बुढामगरको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कालीकोटमा नौ जनाको मनोनयन
कालीकोट समाचारदाताका कालीकोटबाट स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार शक्तिशाली नेतासँगै जेनजी समूहको साथ पाएको राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीबाट बागी उम्मेदवारी दर्ता भएपछि चुनाव रोचक हुने भएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्रबहादुर शाहीले चौथो पटक उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेकपा (एमाले) का नेता नगिन्द्र शाही नेसनलले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति हर्ष बमले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेपाली कम्युनिस्ट पार्टीबाट बागी जीवन बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट धर्मराज न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट अजबहादुर गिरी थपिँदा पाँच दलको प्रतिस्पर्धा हुने छ । नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको हो । राप्रपाबाट सूर्यबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसले टिकट नदिएपछि २०७० र २०७४ सालमा पराजित भएका कांग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।