निर्धारित समयमा निर्वाचन हुन्न कि भन्ने आशङ्का मेटाउँदै मुलुक निर्वाचनको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार प्रत्यक्षतर्फ देशभर एकै पटक १६५ निर्वाचन क्षेत्रमा उत्साह र उमङ्गका साथ मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मितिमा मनोनयनमा सहभागी हुन गरेको अपिलबमोजिम मनोनयन दर्ता सम्पन्न भएको हो । आयोगले बनाएको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुनेमा कुनै शङ्का उपशङ्का नगर्न पनि आग्रह गर्नुभएको छ । हाम्रो मिश्रित प्रकृतिको निर्वाचन प्रणाली भएकाले यसअघि नै समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गर्ने काम सम्पन्न भइसकेको छ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट ११० जना र प्रत्यक्ष निर्वाचनबाट १६५ जना निर्वाचित हुने व्यवस्था छ । आमनिर्वाचन नै मुलुक हाँक्ने सक्षम नेतृत्व चयन गर्ने प्रमुख माध्यम हो । लोकतन्त्रमा निर्वाचन निर्विकल्प छ । आममतदाताले चुनेका प्रतिनिधि संसद् र सरकारमा पुग्ने व्यवस्था नै लोकतन्त्रको सुन्दर पक्ष हो । आममतदाताबाट निर्वाचित भएका जनप्रतिनिधिले संसद् र सरकार चलाउने लोकतन्त्र जस्तो उत्तम व्यवस्था अर्को छैन । त्यसैले आमनिर्वाचन जनता र राष्ट्र दुवैको उत्सव हो । लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुन्ने र चुनिने अधिकार हो । त्यहाँ मतदाताको स्वतन्त्र इच्छा पनि जाहेर हुन्छ । नागरिकको इच्छालाई कसैले पनि निषेध गर्न सक्दैन । यसमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहन्छ ।
सबै सरोकारवालाले निर्वाचनलाई निष्ठापूर्वक सम्पन्न गर्ने यस प्रयोजनलाई सहयोग गर्नु पर्छ । उम्मेदवारी कायम गर्न कानुन र आचारसंहिताले निषेध गरेका गतिविधि गर्नु हुँदैन । संविधानले ग्यारेन्टी गरेको मताधिकारको सही प्रयोगले मात्रै मुलुक र मुलुकवासीको भाग्य र भविष्य निर्धारण गर्छ । निर्वाचनको अर्को वैकल्पिक व्यवस्था नभएको हुनाले निर्वाचनमा सबै क्षेत्रको सहयोग र समर्थन महìवपूर्ण हुन्छ । आउँदो फागुन २१ गते निर्वाचन घोषणा भएसँगै आयोगले तत्कालदेखि कार्यतालिका बनाई निर्वाचनको कामलाई अगाडि बढाएको छ । सबै कार्यक्रम चार महिनाअघि प्रकाशित भएको कार्यतालिका अनुसार कार्यसम्पादन भएका छन् । अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम नहुनेमा आयोग स्पष्ट छ । नेपाली कांग्रेसको महाधिवेशन विवादको विषयले पनि निर्वाचन कार्यतालिका फेरबदल भएन । विशेष गृहकार्य गरेर १६५ स्थानमै कांग्रेसले पनि उम्मेदवारी दिएको छ । राजनीतिक दल नै लोकतन्त्रका प्रमुख औजार हुन् । लोकतान्त्रिक चरित्र, मूल्य र मान्यतालाई आत्मसात् गर्दै दलहरू दागी लाग्नबाट अलग रहनु पर्छ । अयोग्य, गलत र खराब व्यक्तिलाई टिकट दिनु हुँदैन । यदि झुक्किएर दिइएको छ भने फिर्ता गर्नु पर्छ । राजनीतिक मुद्दा नभएका गलत तत्व तथा ‘मनी’ र ‘मसल’ का आडमा चुनाव जित्न खोज्नेप्रति सबै सचेत हुनु पर्छ । निर्वाचित भएको खोल ओढेर गलत व्यक्ति संसद् र सरकारमा पुगे भने त्यसले व्यवस्थाकै बदनाम हुन्छ ।
राजनीतिक मुद्दा बोकेका, विचार र सिद्धान्तमा प्रस्ट भएका, नीति र विधि निर्माणप्रति रुचि भएका राजनीतिक व्यक्तिलाई टिकट दिनु पर्छ । त्यस्ता असल व्यक्ति जनताबाट चुनिए भने आगामी संसद् बलियो बन्ने छ । जनमैत्री कानुन बन्ने छन् । सरकारप्रतिको निगरानी पनि बलियो हुने छ । जनताका अपेक्षा र चाहनाको सम्बोधन हुने छ । यस पटकको प्रतिनिधि सभाको निर्वाचन आवधिक नभएर आकस्मिक घटनाका कारण भएकाले यसको विशेष महत्व छ । गत भदौ २३ र २४ गते भएको नवयुवा (जेनजी) पुस्ताको आन्दोलनको जगमा यो निर्वाचन हुँदै छ । भ्रष्टाचारमुक्त र सुशासनयुक्त समृद्ध नेपाल बनाउने सपना बोकेको यो आन्दोलनको मर्मलाई सबैले आत्मसात् गरी मुलुकलाई सही निकास दिने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित बनाउनु पर्छ । यसका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु गरेको छ । यो आचारसंहितालाई सबैले पालना गर्नु पर्छ । आचारसंहिता उल्लङ्घन गरी निर्वाचनविरोधी काम गरेमा दण्डित गर्नेसमेत व्यवस्था गरिएको छ । मुलुकले लामो समयसम्म गरेको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिष्कृत र परिमार्जन गर्नुपर्ने अवस्था छ । यसमा राजनीतिक दलहरूकै प्रमुख भूमिका रहन्छ । सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता अहिलेको संविधानको मूल विशेषता हुन् । यी विशेषतालाई जोगाउँदै संविधानलाई थप क्रियाशील बनाएर मुलुकका समस्या समाधान गर्न संविधानप्रति प्रतिबद्ध व्यक्तिलाई उम्मेदवार बनाएर संसद्मा पठाए मात्र अहिलेको यो व्यवस्था बलियो हुने छ । संविधानलाई समयसापेक्ष बनाई मुलुकका समस्या समाधान गर्ने आधार बनाउन पनि यो निर्वाचनको विशेष महत्व छ ।