अमरराज नहर्की
तनहुँ, माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १६ जना र क्षेत्र नम्बर २ मा १२ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारी दर्ताका क्रममा मुख्य राजनीतिक दलका साथै साना दल र स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य उत्साह देखिएको छ ।
क्षेत्र नम्बर १ मा १६ जनाको उम्मेदवारी परेको छ, जसमा तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले) का भगवती न्यौपाने र नेकपा (माओवादी) का ओमविक्रम पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै, नेकपाका विद्यानाथ ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले चुनावी मैदानमा उत्रनुभएको छ ।
अन्य उम्मेदवारहरूमा नेशनल रिपब्लिक नेपालका सुमन थापा मगर, उज्यालो नेपाल पार्टीका मन्जिल राना र श्रम संस्कृति पार्टीका काशिराम गुरुङ हुनुहुन्छ । स्वतन्त्रतर्फ दीपकराज जोशी, सन्देश रानाभाट लौडारी र लेखनाथ खनालले उम्मेदवारी दिनुभएको छ । यस क्षेत्रमा १६ उम्मेदवारमध्ये एमालेकी न्यौपाने र नेमकिपाकी दुवाल गरी दुई जना मात्र महिला हुनुहुन्छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा २०८० को उपनिर्वाचनका मुख्य प्रतिस्पर्धीहरू पुनः आमनेसामने भएका छन् । गत उपनिर्वाचनमा विजयी हुनुभएका रास्वपाका डा. वाग्ले र कांग्रेसका भट्टराईबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यसपटक यी दुई प्रतिस्पर्धीलाई एमालेका भगवती न्यौपानेले कडा टक्कर दिने अनुमान गरिएको छ । पूर्वमन्त्री समेत रहनुभएका स्पष्टवक्ता एवं लोकप्रिय नेतृ न्यौपानेले आफू विजयी हुने दाबी गर्नुभएको छ । यस क्षेत्रका उम्मेदवारहरूमध्ये राप्रपाका जोशी (कञ्चनपुर), नेमकिपाकी दुवाल (भक्तपुर) र रास्वपाका डा. वाग्ले (गोरखा) गरी तीन जना बाहिरी जिल्लाका हुनुहुन्छ ।
यस क्षेत्रमा यसअघिको निर्वाचनमा तत्कालिन समयका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार वाग्लेले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराँईलाई हराउनु भएको थियो । भट्टराई यसपटक हारको बदला लिन चुनावी प्रचारमा तिब्रता दिनु भएको छ भने वाग्ले आफ्नो विरासत जोगाउन प्रचार प्रसारमा व्यस्त हुनु भएको छ ।
यसैगरी, क्षेत्र नम्बर २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका शंकर भण्डारी, नेकपा (एमाले) का केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा र रास्वपाका ईन्जिनियर श्रीराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर खाँण, उज्यालो नेपाल पार्टीका मनराज गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका सुष्मा आले, नेसनल रिपब्लिक नेपालका नमबहादुर रानाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसैगरी, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेकपा (माओवादी)का गणेश लामगादे र राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर गोतामेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीका प्रमुख भेषराज पौडेलले जानकारी दिनुभयो ।
नेकपा (माओवादी) का गणेशबहादुर गोतामे मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका यमबहादुर ठकुरी, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की (गोतामे), नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना र मंगोल नेशनल अर्गनाइजेशनका सुष्मा आलेले पनि उम्मेदवारी दिनुभएको छ । अन्य उम्मेदवारहरूमा नेशनल रिपब्लिक नेपालका नमबहादुर राना, नेमकिपाका लक्ष्मण अधिकारी, नेकपाका सोमबहादुर थापा र उज्यालो नेपाल पार्टीका मनराज गुरुङ रहनुभएको छ । यस क्षेत्रमा सुष्मा आले एक्ली महिला उम्मेदवार हुनुहुन्छ ।
तनहुँ क्षेत्र नम्बर २ मा २०७४ सालका पुराना प्रतिस्पर्धी केदार सिग्देल र शंकर भण्डारीबिच पुनः भिडन्त हुने भएको छ । २०७४ मा सिग्देलले भण्डारीलाई पराजित गर्नुभएको थियो भने २०७९ मा भण्डारीले एमालेका किरण गुरुङलाई हराएर जित हासिल गर्नुभएको थियो । यसपटक यी दुई अनुभवी नेतालाई रास्वपाका उम्मेदवार इन्जिनियर श्रीराम न्यौपानेले चुनौती दिँदै हुनुहुन्छ । न्यौपानेले यस क्षेत्रमा पछिल्लो समय आक्रामक रूपमा चुनावी प्रचार प्रसारलाई अगाडि बढाउनुभएको छ ।