खोटाङ, माघ ६ गते। वाम तथा अर्थ विश्लेषक हरि रोकाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिनुभएको छ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका रोकाले कृषकको आवाज बनेर आफूले उम्मेदवारी दिएको बताउनुभएको छ।
‘म चार वर्षदेखि गाउँमै कृषि गरिरहेको मान्छे हुँ, मेरो मन बदलिएको छैन अहिले पनि म किसान नै हुँ,’ उम्मेदवारी दिएपछि उहाँले भने, ‘अहिले म कृषकको माझमा बसेर हलो कोदालो चलाइरहेको छु, मेरो उम्मेदवारी कृषककै पक्षमा हुनेछ।’
रोकाले हामीले कस्तो खालको कृषि गरियो भने उन्नति हुन्छ र कस्तो नीति चाहिन्छ भनेर आफूले अनुभव गरिरहेको बताउँदै जितेपछि कृषककै पक्षमा जहिले पनि बोल्ने र लागिरहने समेत बताएका छन्।
उहाँले सामान्य किसानसँग मिल्न र उनीहरुको भावना बुझ्न भनेरै आफूले पिएचडी गरे पनि डा. नलेखेको समेत बताउनुभयो। ‘म सामान्य किसान जस्तै भएर बाँचौ भन्ने हो, डा। लेखेर सामान्य किसानसँगको दुरी नबढोस् भनेरै मैले नामको अगाडी अहिलेसम्म डा. लेखेको छैन’, उहाँले भन्नुभयो।
खोटाङमा दुई स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ। नेकपाबाट रोकाले उम्मेदवारी दिँदा नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा (एमाले)बाट देवविक्रम राईले उम्मेदवारी दिनुभएको छ।