अविनाश चौधरी
धनगढी, माघ ६ गते । नेकपा (एमाले) को कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार यज्ञराज ढुङ्गानाले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्धारण गरेको कार्य तालिकाअनुसार उहाँले अरान्ह आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । यसअघि, कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको रुपमा काम गर्नुभएका ढुङ्गाना एमालेको कैलाली जिल्ला अध्यक्ष हुनुहुन्छ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार ढुङ्गाना बाजागाजा, नाचगानसहित उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो । उम्मेदवारी दर्तापछि उहाँले देशको आर्थिक, सामाजिक विकाससँगै मुलुकको राष्ट्रियताको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
उहाँले कैलाली ५ मा नेकपा (एमाले) ले २०७४ को निर्वाचनमा प्राप्त गरेकोभन्दा बढी मत ल्याएर यसपालिको निर्वाचन जित्ने विश्वास व्यक्त गर्नुभयो । “सङ्गठन संरचनाको हिसाबले पनि हामी मजबुत छौं” ढुङ्गानाले भन्नुभयो, “कार्यकर्तामा अझ उत्साह छ” २०७४ को निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार नारदमुनि राना विजयी हुनु भएको थियो ।