• ६ माघ २०८२, मङ्गलबार

इलाम २ बाट सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

blog

इलाम २ मा उम्मेदवारी दिँदै सुहाङ नेम्वाङ । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, माघ ६ गते । पछिल्लो समय युवामाझ लोकप्रिय बनेका नेकपा (एमाले) का युवा नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि दोस्रो पटक उम्मेद्वारी दिनुभएको छ । 

गएको २०८१ को उप–निर्वाचनमा इलाम–२ बाट निर्वाचित हुनुभएका नेम्वाङले यसपटक पनि इलाम–२ मै एमालेबाट उम्मेद्वारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्तापछि नेता नेम्वाङले इलाम–२ मा यसअघि भइरहेका पूर्वाधार विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा भइरहेका काम पूरा गर्न उम्मेदवारी दिएको बताउनुभयो । 

गत असोज १८ को बाढी पहिरोपछिको विपद्मा जिल्लाका सबैजसो पीडित परिवारलाई भेट्न पुगेका नेम्वाङले यस पटकको निर्वाचनमा सबै मतदाताहरुको घरमै पुगेर आफूले आशीर्वाद लिने बताउनुभयो । २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ मत ल्याएर उहाँ विजयी हुनुभएको थियो । 

नेम्वाङसँगै इलाम क्षेत्र नम्बर–२ मा १४ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम–२ मा १३ दल र एक स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दिएका छन् । 

इलाम क्षेत्र नम्बर–१ मा १३ दलले उम्मेद्वारी दर्ता गराएका छन् । यसअघिका निर्वाचनहरुमा इलाम –१ मा पनि नेकपा एमालेले विजय हासिल गर्दै आएको थियो । २०७९ सालमा सम्पन्न निर्वाचनमा एमालेका महेश बस्नेतले यही क्षेत्रबाट २५ हजार सातसय ५३ मत ल्याएर विजयी हुनुभएको थियो । बस्नेतका निकटतम् प्रतिद्वन्द्वी पूर्व प्रधानमन्त्री झलनाथ खनालले २३ हजार ८९ मत ल्याउनुभएको थियो ।