• ६ माघ २०८२, मङ्गलबार

सल्यानमा १६ जनाको मनोनयन दर्ता

blog

मनोनयन दर्ता गराउँदै राजनीतिक दलका उम्मेदवारहरु ।

प्रतीक इच्छुक शर्मा

सल्यान, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

जिल्लाको एकमात्र संघीय निर्वाचन क्षेत्रमा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले सल्यान खलङ्गास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । 

मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी, आम जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, नेशनल रिपब्लिक पार्टी, श्रम संस्कृति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन तथा दुई स्वतन्त्र उम्मेदवार रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट केशबहादुर विष्ट, नेकपा (एमाले) बाट गुलाबजंग शाह, नेपाली कम्युनिस्ट पार्टीबाट रमेशकुमार मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली तथा नेकपा (माओवादी केन्द्र) बाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष राई, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, आम जनता पार्टीबाट मानसिंह कामी, संयुक्त नागरिक पार्टीबाट कालिदास विक, नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेशनल रिपब्लिक पार्टी नेपालबाट डिल्लीबहादुर घर्ती तथा मंगोल नेशनल अर्गनाइजेशनबाट वालसिंह घर्तीले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्वतन्त्र उम्मेदवारका रूपमा ध्रुवराज वली र जुद्धबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसले पार्टी जिल्ला सभापति केशबहादुर विष्टलाई उम्मेदवार बनाएको हो । पूर्व जिल्ला समन्वय समिति सल्यानका प्रमुखसमेत रहनुभएका विष्ट पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिका अध्यक्ष पदमा एमालेका ओजबहादुर बुढाथोकीसँग पराजित हुनुभएको थियो ।

नेकपा (एमाले)ले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहलाई उम्मेदवार बनाएको छ । शाह २०७४ सालमा कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भए पनि २०७९ सालको निर्वाचनमा प्रदेशसभा (ख) बाट कांग्रेसका सुरेश अधिकारीसँग पराजित हुनुभएको थियो । अहिलेसम्म चार पटक चुनाव लडेका शाह एक पटक विजयी र तीन पटक पराजित हुनुभएको छ । 

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट रमेशकुमार मल्ललाई उम्मेदवार बनाएको छ । तत्कालीन माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्षसमेत रहनुभएका मल्ल पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको हो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिवका रूपमा उहाँले लामो समय काम गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कर्णाली प्रदेश महामन्त्री ललित चन्दले उम्मेदवारी दर्ता गराउनुभएको छ । चन्द पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अनिसा नेपालीले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएकी नेपाली यसपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा दार्मा गाउँपालिका अध्यक्ष पदमा पराजित हुनुभएको थियो । 

त्यस्तै नेकपा (माओवादी केन्द्र) सल्यानले पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई उम्मेदवार बनाएको छ । जनयुद्धका सहिद माधु खड्काका सन्तानसमेत रहनुभएका खड्का जनयुद्धका घाइते तथा तत्कालीन माओवादीका सैन्य कमाण्डरका रूपमा सक्रिय रहनुभएको थियो । उहाँ महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का प्रमुख स्वकीय सचिवका रूपमा समेत काम गरिसक्नुभएको छ ।