काठमाडौँ, माघ ६ गते । आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ ।
घरेलु टोली श्रीलङ्कासँग नेपाल मङ्गलबार ६ विकेटले पराजित भएको हो । जितका लागि एक सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
श्रीलङ्काका लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाउनु भयो । यस्तै नुवानिदु फर्नान्डोले ३८ र सहान अराकिगेले अविजित ३३ रन जोड्नु भयो ।
बलिङमा नेपालका सोमपाल कामीले तीन तथा ललित राजवंशीले एक विकेट लिनु भयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाउनु भयो । यस्तै आरिफ शेखले ४२ र कप्तान रोहित पौडेलले ३१ रन बनाउनु भयो । नेपालले दोस्रो अभ्यास खेल बिहीबार खेल्ने छ ।