चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ६ गते। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा तेह्र जनाको उम्मेदवारी दर्ता भएको छ। विभिन्न राजनीतिक दलका तर्फबाट १३ जनाले उम्मेदवारी (मनोनयन) दर्ता गराएको हुन्।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्गलबारका लागि तोकिएको उम्मेदवारी दर्ता कार्यक्रम अनुसार विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका जनाएको छ। निर्धारित समय बिहान १० देखि ५ बजेसम्ममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत दलका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठका अनुसार नेपाली कांग्रेसका तर्फबाट गजेन्द्रप्रसाद तुम्याहाङले उम्मेदवारी दर्ता गर्नुभएको छ। कांग्रेस जिल्ला सभापति रहनु भएको तुम्याहाङको प्रस्तावकमा सञ्जय निरौला (गणेशबाबु) र समर्थकमा गणेशबहादुर लिम्बू रहनु भएको छ।
यस्तै नेकपा एमालेका तर्फबाट क्षितिज थेबे र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट खेलप्रसाद बुडाक्षेत्री (पराग) ले उम्मेदवारी दर्ता गर्नुभएको छ। थेबेको प्रस्तावकमा सन्तोष खतिवडा र समर्थकमा सन्तोष चाम्लिङ रहनु भएको छ। थेबे एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष हुनु हुन्छ।
त्यस्तैगरी, बुडाक्षेत्रीको प्रस्तावकमा विष्णुकुमार लिम्बू र समर्थकमा बमबहादुर भट्टराई (तारा) रहनु भएको छ। तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहनु भएको बुडाक्षेत्री हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनु हुन्छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वीरेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा, जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट मुक्साम लाबुङ लिम्बूले उम्मेदवारी दर्ता गराउनु भएको छ। त्यसैगरी जनता समाजवादी पार्टीका तर्फबाट अरुण सुब्बा लेछर्बो र नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बूले उम्मेदवारी दर्ता गर्नु भएको छ।
उज्यालो नेपाल पार्टीका तर्फबाट कीर्तिमान मादेन, श्रम संस्कृति पार्टीका सन्तोषकुमार राई, मङ्गोल नेसलन अर्गनाइजेसन नेपालका सन्तबहादुर लिम्बू र नेकपा (माओवादी) तर्फबाट नरपति पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनु भयो। उहाँका अनुसार विभिन्न दलसम्बद्ध उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै उम्मेदवारी दर्ता गर्नेमा सबै जना पुरुष रहनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएसँगै बाँकी उम्मेदवारको नामावली प्रकाशन, दाबीविरोध, अन्तिम नामावली प्रकाशनसहितका प्रक्रिया अघि बढ्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस श्रेष्ठले जानकारी दिनु भयो। प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ।