• ६ माघ २०८२, मङ्गलबार

सात दलको उम्मेदवारी दर्ता

blog

मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठबाट उम्मेदवारी दर्ताको निस्सापत्र बुझ्नु हुँदै खेलप्रसाद बुडाक्षेत्री । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ६ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा सात तलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । 

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमाले), नेपाली कम्युनिस्ट पार्टी लगायतका दलका उम्मेदवारले उम्मेदवारी (मनोनयन) दर्ता गराएका हुन् ।

मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्य सुरु भएको हो । हालसम्म दर्ता भए अनुसार नेकपा (एमाले) का तर्फबाट क्षितिज थेबेले उम्मेदवारी दर्ता गर्नुभएको छ । थेबेको उम्मेदवारीका लागि सन्तोष खतिवडा प्रस्तावक र सन्तोष चाम्लिङ समर्थक बस्नु भएको छ । थेबे एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष हुनु हुन्छ ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पार्टीका केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री (पराग)ले उम्मेदवारी दर्ता गर्नु भएको छ । बुडाक्षेत्रीको प्रस्तावकमा विष्णुकुमार लिम्बू र समर्थकमा बमबहादुर भट्टराई रहनु भएको छ । बुडाक्षेत्री तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहनु भएको थियो । 

यसैगरी, दिउँसो २ बजे सम्ममा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट इन्द्रप्रसाद थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । थापाको प्रस्तावकमा अमृतकुमार लिम्बू र समर्थकमा उर्मिला विक रहनु भएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट मुक्साम लाबुङ लिम्बूले उम्मेदवारी दर्ता गर्नु भएको छ। 

त्यस्तै नेपाल जनमुक्ति पार्टीका तर्फबाट इन्द्रकुमार लिम्बू, श्रम संस्कृति पार्टीका तर्फबाट सन्तोषकुमार राई, र मङ्गोल नेसलन अर्गनाइजेसन नेपालका तर्फबाट सन्तबहादुर लिम्बूले उम्मेदवारी दताए गराउनु भएको छ । अहिले उम्मेदवारी दर्ताको क्रम निरन्तर चलिरहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठले जानकारी दिनु भयो ।

नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको उम्मेदवारी दर्ता हुन बाँकी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसले दिउँसो ४ बजेका लागि उम्मेदवारी दर्ता गर्ने समय मागेको छ । यता जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी बान्दवराज दुलाल (विपिन) का अनुसार जिल्लामा विभिन्न १२ वटा राजनीतिक दल दर्तामा रहेका छन् ।

एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा ९० हजार ३२७ मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ ८० वटा मतदान स्थल र १२७ वटा मतदान केन्द्र कायम गरिएको छ ।