जनार्जन खत्री
सर्लाही, माघ ६ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
श्रेष्ठले मङ्गलबार दिउँसो सर्लाहीको हरिवनस्थित क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । श्रेष्ठसहित सर्लाही क्षेत्र–३ बाट नेकपा (एमाले)को तर्फबाट निवर्तमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, उप्रेतीसँग यसअघि झिनो मतान्तरले पराजित हुनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साहलगायतले उम्मेदवारी दर्ता गराइसक्नु भएको छ ।
यस्तै सर्लाहीको क्षेत्र नम्बर २ बाट राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले उम्मेदवारी दर्ता गराइसक्नु भएको छ । यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रराय यादवले पनि उम्मेदवारी दर्ता गराउँदै हुनु हुन्छ ।
यसैगरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी पर्दैछ । थापा आफै सरिक हुन नभ्याउने भएपछि नेपाली कांग्रेस मधेश प्रदेश सभाका सदस्य वीरेन्द्रप्रसाद सिंहले वारेसनामा मार्फत् उम्मेदवारी दर्ता गराइदिँदै हुनु हुन्छ ।
सर्लाहीमा चारवटै निर्वाचन क्षेत्रमा अहिले शान्तिपूर्ण रूपमा धमाधम उम्मेदवारी दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनु भयो । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ताको समय साँझ ५ बजेसम्मका लागि छुट्याएको छ ।
मुख्य निर्वाचन अधिकृत थपलियाले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने बताउनु भयो ।