• ६ माघ २०८२, मङ्गलबार

राउटेलाई नागरिकता दिने तयारी

blog

सुर्खेतको लेकबेँसी नगरपालिका–५, लमनामा बस्दै आएका राउटे ।तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, माघ ६ गते  । कर्णाली प्रदेशका पहाडी जिल्लाका जङ्गलमा घुमन्ते जीवन बिताउँदै आएका अति लोपोन्मुख राउटे समुदायलाई नागरिक वितरणको गृहकार्य थालिएको छ । अहिले राउटेलाई स्थायी बासिन्दाका रूपमा लिएर परिचयपत्र वितरण गरेको दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई नागरिकता वितरणको गृहकार्य थालेको हो । यद्यपि राउटे नागरिकता लिनु आफ्नो धर्मविपरीत ठान्छन् । 

गाउँपालिका अध्यक्ष टोपबहादुर विसीले केही समयअगाडि नै राउटेलाई नागरिकता वितरणको तयारीका लागि दैलेख जिल्ला प्रशासनले प्रव्रिmया अगाडि बढाएको बताउनुभयो । त्यसका लागि मन्त्रीपरिषद्को निर्णय आवश्यक पर्ने भएकाले नागरिकता दिन नसकिएको उहाँको भनाइ छ । 

राउटेलाई नागरिकता वितरण गर्न सके उनीहरूलाई पञ्जीकरण गर्न सघाउ पुग्ने भएकाले त्यसका लागि सामाजिक विकास मन्त्रालयलाई अग्रसरता लिन उहाँले आग्रह गर्नुभयो । राउटेको सङ्ख्या दिनदिनै घट्दै गएका कारण उनीहरूलाई पञ्जीकृत गरी संरक्षणका साथै सरकारी सेवा सुविधा दिन पनि नागरिकताको आवश्यकता भएको उहाँको भनाइ छ । अहिले उक्त गाउँपालिकाले राउटेको सङ्ख्या पहिचान गर्न परिचयपत्र दिएको छ । त्यसैको आधारमा राउटेको सङ्ख्या पत्ता लाग्ने गरेको छ । राउटे आफूहरू जङ्गलमा घुमिरहने, स्थायी घरमा नबस्ने, शिक्षा नलिने भन्दै आएका छन् । 

यसैबिच कर्णाली प्रदेश सरकारले राउटे समुदायको अध्ययन, उत्थान, संरक्षण र विकासका लागि भन्दै बनाउन लागेको राउटे नीति अन्तिम चरणमा पुगेको छ । उक्त नीति सामाजिक विकास मन्त्रालयले बनाई अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेको छ । 

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले करिब १० वर्षदेखि राउटे घुम्ने, उनीहरूको जीवनस्तरको अध्ययन गर्दै उनीहरूलाई सामाजिकीकरण गर्न प्रदेश सरकारले राउटे नीति तयार पार्न लागेको बताउनुभयो । मन्त्रालयले एक कार्यदल बनाएर राउटे नीति तयार पारिरहेकाले अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेको भन्दै त्यसपछि अन्य प्रव्रिmया पूरा गरी लागु गरिने उहाँले जनाउनुभयो । राउटे समुदायलाई उनीहरूको सम्पदा कायमै राखी सामाजिकीकरणका साथै संरक्षण गर्न यो राउटे नीति महìवपूर्ण दस्ताबेज हुने मन्त्री भण्डारीको भनाइ छ । 

राउटे नीतिमा राउटे कोरिडोरलाई प्राथमिकता दिइएको छ । राउटे विगत १० वर्षदेखि कुन कुन ठाउँमा बसेका थिए र धेरै जसो कुन ठाउँमा बस्ने रहेछन् भनेर उनीहरू हिँडेको र बसेको ठाउँलाई आधारमा मानेर राउटे कोरिडोर तयार पारिएको छ । मन्त्री भण्डारीले राउटे समुदाय धेरैजसो सुर्खेत, अछाम, दैलेख र जाजरकोट जिल्लामा बस्ने गरेको पाइएको भन्दै धेरै पहिले डोटी र दाङमा गएको पाइएको बताउनुभयो । यिनै जिल्लालाई समेटेर राउटे कोरिडोरको व्यवस्था राउटे नीतिमा गरिएको उहाँले जनाउनुभयो । 

यसै गरी राउटे नीतिमा राउटे समुदायको भाषा, वेशभूषा, सिप र सुरक्षाको विषयलाई पनि समेटिएको छ । उनीहरूको सिप नमुनायोग्य भएको भन्दै उहाँले राउटेले बनाएका सामग्री बजारीकरण गर्ने पनि नीतिमा उल्लेख भएको बताउनुभयो । यसका साथै राउटे समुदायको पहिरनलाई अब सङ्ग्रहालयमा राखिने छ । राउटे नीति अन्तिम चरणमा मुख्यमन्त्री कार्यालयमा पुगेको जानकारी दिँदै सामाजिक विकासमन्त्री भण्डारीले यो नीतिले राउटेको समग्र सिप विकास, सुरक्षा, उत्थान र संरक्षणमा टेवा पुग्ने बताउनुभयो । अहिले राउटे सुर्खेतको लेकबेँसी नगरपालिका–५ को लमनामा बस्दै आएका छन् । राउटेको सङ्ख्या १३३ रहेको छ ।