पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ ६ गते । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै नवलपरासी (सुस्ता पश्चिम) का दुई निर्वाचन क्षेत्रमा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । प्रमुख दलहरूले आफ्ना ‘हेभीवेट’ उम्मेदवारहरूलाई मैदानमा उतारेपछि यहाँको प्रतिस्पर्धा राष्ट्रिय स्तरमै चासोको विषय बनेको छ ।
निर्वाचन क्षेत्र नं. १ चौधरी र त्रिपाठीबिच पुनः भिडन्त, खनालको नयाँ इन्ट्री
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य एवम् चर्चित उद्योगपति विनोद चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । यसअघिको निर्वाचनमा विजयी भएका चौधरीलाई आफ्नो विरासत जोगाउने मुख्य चुनौती छ ।
उहाँलाई कडा टक्कर दिन जनता समाजवादी पार्टी (जसपा) बाट अनुभवी नेता एवम् पूर्वमन्त्री हृदयश त्रिपाठी मैदानमा हुनुहुन्छ । तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बिक्रम खनालको उम्मेदवारीले निर्वाचनलाई थप पेचिलो बनाएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्व महामन्त्री समेत रहेका संविधान सभा सदस्य खनाल हालै कांग्रेस परित्याग गरी रास्वपाबाट टिकट लिएर चुनावी मैदानमा उत्रिनुभएको हो ।
नेकपा एमालेले प्रभावशाली नेता रामप्रसाद पाण्डेलाई यस क्षेत्रको साझा उम्मेदवारका रूपमा अघि सारेको छ । नेकपाले पनि यस क्षेत्रमा आफ्नो बलियो उपस्थितिको दाबी गर्दै सिन्धु जलेसालाई उम्मेदवार बनाएको छ । राप्रपाले पनि नवनित मिश्रलाई मैदानमा उतारेर आफ्नो पकड बलियो बनाउने रणनीति लिएको छ । उज्यालो नेपाल पार्टीको एजेन्डासहित विजय कँडेलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेर युवा मतदाताहरूलाई आकर्षित गरिरहनुभएको छ ।
निर्वाचन क्षेत्र नं. २ः कँडेलको सातौँ अग्निपरीक्षा, त्रिकोणात्मक भिडन्तको सङ्केत
निर्वाचन क्षेत्र नम्बर २ मा टिकटका लागि पार्टीभित्र निकै रस्साकस्सी भए पनि अन्ततः नेपाली कांग्रेसले पूर्वमन्त्री देवेन्द्रराज कँडेललाई नै उम्मेदवार सिफारिस गरेको छ । कँडेलका लागि यो निर्वाचन बदला लिने अवसर पनि हो, किनकि अघिल्लो निर्वाचनमा उहाँ राप्रपाका ध्रुव बहादुर प्रधानसँग पराजित हुनुभएको थियो । पूर्वमन्त्री प्रधान यसपटक पनि राप्रपाबाटै मैदानमा हुनुहुन्छ ।
तर, यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्र कुमार गुप्ताको उम्मेदवारीले निर्वाचनलाई थप पेचिलो बनाएको छ । हालै कांग्रेस परित्याग गरी रास्वपाबाट टिकट लिएर गुप्ता चुनावी मैदानमा उत्रिनुभएको छ । यता नेकपा एमालेबाट भगवती यादव ‘रुदल’ को उम्मेदवार, नेकपाबाट पूर्वमन्त्री देवेन्द्र पौडेल ‘सुनील’ उम्मेदवार बनाएकाले यस क्षेत्रलाई बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ ।
पश्चिम नवलपरासीका दुवै क्षेत्रमा पुराना र अनुभवी अनुहारहरूका विरुद्ध नयाँ शक्ति (रास्वपा) र पुराना दलका असन्तुष्ट पक्षहरूको भूमिका निर्णायक हुने देखिएको छ । निर्वाचन क्षेत्र नं २ मा कांग्रेसभित्रको आन्तरिक एकता कायम राख्नु कँडेलका लागि चुनौतीपूर्ण छ भने क्षेत्र नं १ मा चौधरीलाई आफ्नो कार्यकालमा भएका विकास निर्माणका कामको अनुमोदन गराउनुपर्ने भार छ ।
आगामी फागुन २१ गते हुने मतदानले पश्चिम नवलपरासीको नेतृत्व कसको हातमा सुम्पने हो, त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।