• ६ माघ २०८२, मङ्गलबार

कञ्चनपुरमा दलहरुले लगाए उम्मेदवारको टुङ्गो, मनोनयन पत्र दर्ताको तयारी

blog

भवानीदत्त भट्ट
कञ्चनपुर, माघ ६ गते ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारहरुको टुङ्गो लगाएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेससहितका दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाए हुन् ।  

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ का लागि नेकपा एमालेबाट तारालामा तामाङ उम्मेदवार बन्नुभएको छ । नेता तामाङ विसं २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । तर जेनजी आन्दोलनका कारण संसद विगठन भएपछि आगामी फागुन २१ मा हुने निर्वाचनमा तामाङ पुनः उम्मेदवार बन्नुभएको हो । यस अघि २०७९ सालमा पाँच हजार ५४६ मतान्तरले विना मगरलाई पराजित तामाङ विजयी हुनुभएको थियो ।

यस पटक पनि क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट विबा मगर उम्मेदवार बन्नुभएको छ । मगर यस अघि विसं २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १९ हजार २४८ मतान्तरले नेपाली कांग्रे्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गर्दे विजयी हुनुभएको थियो । तर विसं २०७९ सालमा भएको निर्वाचनमा भने नेकपा एमालेका उम्मेदवार तामाङसँग मगर पराजित हुनुभएको हो । तामाङले २२ हजार ५३५ मत प्राप्त गर्दा मगरले १७ हजार ५७ मत पाउनुभएको थियो ।

यसैगरी, नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ बाट गोपी प्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव भीमराज भट्टका अनुसार, तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टङ्गो लगाइएको हो । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ मा दिल्ली शाही उम्मेदवार बन्नुभएको छ । शाही पार्टीका क्षेत्रीय संयोजक हुनुहुन्छ भने स्थानीय तह जिल्ला परिचालन समितिका जिल्ला संयोजक पनि हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्र्टीबाट क्षेत्र नम्बर १ मा जनक सिंह धामी उम्मेदवार बन्नुभएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले पूर्व परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलाई उम्मेदवार बनाएको छ । यसअघि २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट साउँदले नेकपा एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ को मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।  

नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्बर २ मा माधव पन्तलाई उम्मेदवार बनाएको छ । यस अघि नेता लालबहादुर खड्कालाई उम्मेदवार बनाउने चर्चा चुलिए पनि पन्तलाई उम्मेदवार बनाइएको हो । यसैगरी, नेकपा एमालेबाट क्षेत्र नम्बर–२ का लागि बचन बहादुर सिंह उम्मेदवार बन्नुभएको छ । सिंह राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष समेत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर २ मा दिपक बोहरा उम्मेदवार बन्नुभएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्टीका केन्द्रीय सदस्य तीर्थराज चटौत उम्मेदवार बन्नुभएको छ । युवा व्यवसायी चटौत सामाजिक कार्यसँगै राजनीतिमा सक्रिय हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेबाट डा. दीपकप्रकाश भट्ट उम्मेदवार बन्नुभएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका डा. भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित भएका हुनुभएको थियो । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई दुई सय ५८ मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको थियो ।

निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार उम्मेदवार बन्नुभएको छ । यसैगरी, नेपाली कांग्रेसबाट पूर्व गृहमन्त्री रमेश लेखक उम्मेदवार बन्नुभएको छ । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लेखक नेकपा एमालेका उम्मेदार डा. भट्टसँग २५८ मतान्तरले पराजित हुनुभएको थियो । लेखक २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने एमालेका निरुदेवीपाललाई १२ हजार ३० को मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।

यसैगरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केन्द्रीय सह प्रवक्ता पूर्णबहादुर चन्द उम्मेदवार बन्नुभएको छ । चन्द पूर्व जिल्ला अध्यक्ष समेत हुनुहुन्छ  । राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महता उम्मेदवार बन्नुभएको छ ।

निर्वाचन कार्यतालिका अनुसार, मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारहरुको मनोनयनपत्र दर्ताको समय तोकिएको छ । मनोनयन दर्ताका लागि दलका नेताहरुले तयारी थालेका छन् ।